काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा, यस्तो रहनेछ पर्सिसम्मको मौसम

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौंमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ ।

रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसमविद्ले आगामी २४ घण्टासम्म देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षति तथा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

यस्तै आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हावाहुरीकाे समेत सम्भावना औंल्याइएको छ ।

आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

सोमबार पनि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

सोमबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका थोरै तथा तराईका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षा हुन सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *