राम्रा कामका लागि जस्तोसुकै जोखिम मोल्न तयार छु : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा कामका लागि जस्तोसुकै जोखिम मोल्न पनि आफू तयार रहेको बताएका छन्। सोमबार ललितपुरमा विश्व वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले लेनदेनका कारण अहिले आपराधिक क्रियाकलापहरू बढिरहेको उल्लेख गर्दै यस्ता गतिविधिमा आफू नलागेको र कहिल्यै नलाग्ने पनि प्रतिबद्धता जनाए। उनले आफूलाई जोखिमसँग खेल्ने बानी रहेको भन्दै राम्रा कामका लागि जुनसुकै जोखिमसँग जुध्ने बताए।

मन्त्री बस्नेतले मानव सभ्यताकै शत्रुको रूपमा प्लास्टिकजन्य पदार्थहरू देखिन थालेको बताए। उनले प्लास्टिकलाई पूर्ण रूपमा नष्ट गर्न पनि नसकिने र न्यूनीकरणका लागि विकल्प नहुँदा समस्या सिर्जना भएको बताए। उनले प्लास्टिकजन्य सामग्रीका कारण वातावरण धेरै प्रदूषित भएको भन्दै यसको असर नेपालमा पनि धेरै परिरहेको बताए। प्लास्टिकजन्य सामग्रीको प्रयोग कम गर्ने कुरामा सार्क राष्ट्रहरूले एक भएर काम गर्नुपर्ने बताए।

प्लास्टिकजन्य सामग्रीको प्रयोग कम गर्नका लागि जनचेतनाका साथै सरकारी स्तरबाट न्यूनीकरण गर्न आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिनुपर्ने उनले बताए। मन्त्री बस्नेतले नेपालमा सबै मिलेर प्लास्टिकजन्य सामग्रीको प्रयोगलाई कम गर्दै वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर