प्रधानमन्त्रीको भारत भ्रमण यसकारण ‘हिट’

प्रधानमन्त्रीको भारत भम्रण अहिले सदनमा बहसको विषय बनेको छ । एमालेले सदनमा राँगो ल्याउनु बाहेक भ्रमणको कुनै उपलब्धि नरहेको भन्दै खिसिट्युरी गरिरहेको छ । वाणिज्य, कनेक्टिभिटी र जनसमुदायबीच हुनसक्ने सहकार्यका दृष्टीकोणमा तुलना गर्ने हो भने प्रधानमन्त्रीको भारत भ्रमण सफल छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धका सवालमा एचआइटी–हिट फर्मुला अघि सारेका थिए । २०७१ सालमा नेपाल भ्रमणमा आउँदा मोदीले नेपालसँगको सम्बन्ध हाइवेज, आइवेज र ट्रान्सवेज । हाइवेज अन्तर्गत सडक तथा राजमार्ग विस्तार। आइवेज अन्तर्गत सुचना प्रविधि र ट्रान्सवेज अन्तर्गत प्रसारण लाइनमा सहयोगको कुरा राखेका थिए ।

छिमेकीसँगको मोदीको सहकार्य मोडल हाल थ्री सीमा केन्द्रित छ । उनको थ्री सी मोडलमा केनेक्टिभिटी, कमर्स र कम्युनिटी पर्छन् । कुटनीतिमा आफ्नो नीति अनुसारनै सम्झौता गरिन्छ । आफ्नो हित पहिले हेरिन्छ । भारतले नेपालसँग प्रधानमन्त्रीको छिमेकीसँग सहकार्य मोडल अन्तर्गतनै सम्झौता गरेको छ । नेपालको वृहत्तर हितका लागि यो कति फलदायी छ वा छैन भन्ने कुरा कार्यान्वयनको पक्षमा निर्भर छ । तर जे सम्झौता भएका छन् त्यसले २ मुलुकबीचको सहकार्यलाइ बढावा दिने खालकै छ ।

प्रधानमन्त्री पुष्पमल दाहाल प्रण्डको भारत भ्रमणमा दुई मुलुकबीच मोदीको हिट र थ्री सी दुबै मोडलमा सहकार्य भएको छ ।

कनेक्टिभिटीको सवालमा चर्चा गर्दा नेपाल र भारतबीच यात्रुवाहक तथा मालवाहक रेल्वे लाइन विस्तारमा सम्झौता भएको छ । प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच कुरथा-बिजलपुरा रेल्वे लाइन विस्तारबारे सम्झौता भएको हो । यस्तै बथनाह-विराटनगर मालबाहक रेल्वे लाइन निर्माण गर्ने सम्झौता भएको छ । यता जयनगर-कुर्था रेलको मर्मतका लागि भारतले अनुदान दिने भएको छ । यस्तै सिरसा-झुलाघाट पुल निर्माण लगायत कनेक्टिभिटी अन्तर्गत अन्य सम्झौता भएका छन् ।

कम्युनिटी अन्तर्गत इन्ट्रगेटेड चेकपोस्ट बनाउने कुरापनि समावेश छ । सुनौली र रूपैडिहामा पोस्ट निर्माण गर्ने सम्झौता भएको भारतीय विदेशमन्त्रालयले जारी गरेको वक्तव्यको बुँदा १३ मा उल्लेख छ । यो सम्झौताले दुई देशको व्यापारिक तथा वाणिज्य सम्बन्धलाइ मात्रै नभएर जनताबीचको सम्बन्धलाई पनि बलियो बनाउने विश्वास दुबै मुलुकका प्रधानमन्त्रीले व्यक्त गरेका छन् । जनसमुदायलाइ सहज बनाउने हिसाबले नेपाल र भारतबीच अर्को महत्वपूर्ण सम्झौता पनि भएको छ । नेपाल र भारत दुबैका जनताले अब सिधै दुबै मुलुकमा विद्युतीय भुक्तानी गर्न पाउने भएका छन् ।

यसले भारतबाट नेपाल आउने पर्यटकलाई पेमेन्ट गर्न, नेपालबाट भारत जाने विद्यार्थी, उपचार गर्न जाने बिरामी, पर्यटनका लागि जाने र तीर्थयात्री सबैलाई सहयोग पुग्नेछ । नोट साट्ने झन्झट पनि नहुने राष्ट्र बैंकले नै बताएको छ। कमर्स अर्थात वाणिज्य अन्तर्गत पनि सम्झौता भएका छन् । १६ नम्बर बुँदामा उल्लेख भए अनुसार मोतीहारी–अमलेखगन्ज पेट्रोलको पाइपलाइनलाई चितवन पुर्‍याउने, सिलिगुडी–झापाबीच अर्को पेट्रोल पाइपलाइन बिछ्याउने योजनामा पनि सहमति भएको छ ।

नेपालसँग ट्रान्सवेज अर्थात् प्रसारण लाइनको सन्दर्भमा पनि भारतले सहमति गरेको छ । आउँदो दशकसम्म १० हजार मेगावाट विजुली नेपालबाट भारत लैजाने सहमति भएको छ भने नेपालको विद्युत तेस्रो मुलुकमा लैजानका लागि पनि सहमित भएको छ । यसको पहिलो चरण अन्तर्गत भारतले नेपालको ४० मेगावाट बिजुली बंगलादेशमा विक्रीका लागि भारतीय ग्रीड उपलब्ध गराउने भएको छ । बिजुली प्रसारणका नयाँ लाइन निर्माणका विषयमा पनि भ्रमणमा छलफल भएको छ । विद्युतीय प्रसारण लाइन सम्बन्धि सहकार्य कार्यान्वयन भएका नेपालले आफ्नो विजुली भारतीय प्रसारणमार्फत पाकिस्तान, म्यानमार र श्रीलंकासम्म बेच्न सक्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा कालापानीको सट्टा बंगलादेशसम्को सहज पहुँच उपलब्ध गराउन सार्वजनिक रूपमै भनेका छन् । यसबारे प्रतपक्षी दल सहित अन्यले सदनमा कडा विरोध गरेका छन् । सार्वभौम मुलुकको भूमी साटफेर गर्ने अधिकार प्रधानमन्त्रीलाई मात्रै पक्कै पनि छैन । तर राष्ट्रको अधिकतम हित हुनेगरी बंगलादेशी मोडलमा सीमा विवाद समाधानको पहलका लागि राजनीतिक दलहरूले बहस गर्नुपर्ने मत पनि आइरहेका छन् । बंगलादेशसम्म पहुँच विस्तार भएमा चटगाउँ, मोंगला र निर्माणाधीन मातावारी बन्दरगाह हुँदै नेपाल विश्वबजारमा पुग्न सक्छ । यो अवस्थामा कलकत्ता र विशाखापटनको विकल्प पनि नेपालले प्राप्त गर्नसक्छ ।

सांस्कृतिक पक्षबाट पनि भारत भ्रमणका क्रममा महत्वपूर्ण काम भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनको महाकालेश्वर मन्दिरमा गेरु वस्त्र लगाएर पुजाअर्चना गरेका थिए । कम्युनिस्ट र क्रान्तिकारी स्वभावका प्रचण्डले पुजा गरेको कुराको निकै आलोचना पनि भएको थियो । नेपालमा रहेका धेरै हिन्दु तीर्थस्थलमा भारतीय पर्यटकलाइ आकर्षित गर्नका लागि उनको पुजा अर्चनाले पक्कै सहयोग पुर्‍याउनेछ । आफुले पुजा गर्दा भारतमा सकरात्मक सन्देश प्रवाह भएको प्रधानमन्त्री स्वयंमले बताएका छन् । रामायण सर्किट र बुद्धिस्ट सर्किटका योजना अघि बढेको समयमा भारतबाट लाखौँ धार्मिक पर्यटन भित्र्याउन पनि यसले सहयोग पुर्‍याउने उनको बुझाइ छ । कतिपयले गेरू वस्त्र लगाएर बसुन् भन्ने चाहना राखेपनि आफुलाइ सक्रियतापूर्वक राजनीतिका लागि थप प्रेरणा प्राप्त भएको उनी स्वयंमले बताएका छन् ।

प्रधानमन्त्रीलाइ विपक्षीले मुर्रा राँगा ल्याउनु मात्रै भ्रमणको सफलता भनेको छ । यसरी खिसिट्यसरी गर्दा प्रतिपक्षीले मुर्राको अर्थतन्त्रबारे ज्ञान नराखेको बुझिएको छ। निकै आलोचना भएपछि सदनमै उभिएर प्रधानमन्त्रीले मुर्रा ओली सरकारकै पालामा ल्याउने सहमति भएको बताएका थिए । मुर्रा प्रजातिका भैँसीले २५ लिटरसम्म दुध दिनेगर्छ । नश्ल सुधार गरेर मुर्रा प्रजातिको संख्या बढाउन सकिएमा दुधमा नेपालाइ थप आत्मनिर्भर बनाउन सकिन्छ । हरियाणाबाट इटाली, बुल्गेरिया इजिप्ट, ब्राजिल लगायतका मुलुककले पनि मुर्रा लगेका छन् ।

समग्रमा प्रधानमन्त्रीको भारत भ्रमण उर्जा, वाणिज्य र साँस्कृतिक पक्षबाट सफल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *