जनयुद्धमा सामेल नभएकाहरूले प्रधानमन्त्रीविरुद्ध मुद्दा हाले, प्रतिवाद गर्छौं : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरूले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध मुद्दा हालेको आरोप लगाएका छन्।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री दाहालका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको बताएका हुन्।

उनले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्त्वहरूले मुद्दा हालेको बताए। उनले शान्ति प्रक्रिया भाँड्नका लागि माओवादी केन्द्र पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काउने हर्कत गरिएको बताए।

उनले माओवादीका विरुद्धमा मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसक्ने उल्लेख गरे। सचिव पौडेलले शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु सबैको कर्तव्य र दायित्व भएको बताए।

सचिव पौडेलले सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाँड्ने क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे। उनले प्रधानमन्त्रीलाई मनोवैज्ञानिक तनाव दिनका लागि मुद्दाको प्रसंग निकालिएको भन्दै यसको वैचारिक र सैद्धान्तिक रूपले प्रतिवाद गर्ने बताए।

उनले देशमा संविधान निर्माण, गणतन्त्र स्थापना र समावेशी समानुपातिक प्रतिनिधित्वका लागि तत्कालीन समयमा जनयुद्ध गरिएको भन्दै आन्दोलनमा मानिसहरू हताहत हुनु स्वाभाविक भएको बताए।

दाहालविरुद्ध पूर्व बालसैनिक लेनिन विष्टसहित ९ जनाले युद्ध अपराधमा कारबाहीकाे माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा दर्ता गराएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर