पर्यटनमन्त्रीले पाेखरा विमानस्थलका लागि हवाई रूट माग्दा भारतीय राजदूत माैन

चिनिया ऋण अनुदानमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रूट उपलब्ध गराउन भारत अनिच्छुक देखिएकाे छ।

योग दिवसका अवसरमा बुधबार पोखरामा भारतीय दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरा विमानस्थलमा हवाई रूट उपलब्ध गराउनेबारे केही जवाफ नदिएका हुन्।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा विमानस्थलका लागि हवाई रूट उपलब्ध गराउन राजदूत श्रीवास्तवसमक्ष कुरा राखेका थिए।

पोखरा रंगशालामा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले पोखरा विमानस्थल नियमित सञ्चालन गर्नमा सहयोगका लागि आग्रह गर्दै हवाई रूटको कुरा उठाएका हुन्। साथै भारतको विभिन्न शहरहरूबाट पोखराका लागि सिधै उडान गराउन पहल गरिदिन पनि आग्रह गरेका थिए।

जवाफमा राजदूत श्रीवास्तवले हवाई रूटबारे केही नबोलेका हुन्। उनले कुरा घुमाएर पोखरामा सबैभन्दा बढी भारतीय पर्यटकहरू आउने गरेको बताए।

राजदूत श्रीवास्तवले भारतका विभिन्न प्रान्तहरूबाट अहिले पनि सबैभन्दा बढी भारतीय पर्यटकहरू नै पोखरा आउने गरेको बताएका हुन्।

यसअघि मंगलबार योग दिवसकै अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा भने राजदूत श्रीवास्तवले भैरहवा विमानस्थलमा हवाई रूट उपलब्ध गराउन भारत सकारात्मक रहेको बताएका थिए।

लुम्बिनीको कार्यक्रममा भैरवहा विमानस्थलमा हवाईमार्ग उपलब्ध गराउन भारत सकारात्मक रहेको बताएका राजदूत श्रीवास्तवले पोखरामा हवाई रूट उपलब्ध गराउनेबारे कुरै नगरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *