उच्च अदालतको अन्तरिम आदेशसँगै काठमाडौंमा प्रदर्शन हुन थाले हिन्दी चलचित्र

हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरूद्ध उच्च अदालत पाटनले बिहीबार अन्तरिम आदेश जारी गरेसँगै शुक्रबारदेखि काठाडाैंका सिनेमा हलमा हिन्दी चलचित्र प्रदर्शनमा आउन थालेका छन्।

मेयर शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर निषेधाज्ञाको रिटमा अन्तरिम आदेश आएसँगै हिन्दी चलचित्रको प्रदर्शन सुरू भएको हो।

अदालतले विपक्षीसँग छलफल गर्न असार १२ गते दुबै पक्षलाई बोलाएको छ। हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

काठमाडौंका हलमा आज बलिउड अभिनेता विक्की कौशल र सारा अली खान अभिनीत फिल्म ‘जरा हटके जरा बचके’ प्रदर्शनमा आएको हो। नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स र वान सिनेमाजले सो फिल्म प्रदर्शनमा ल्याएका हुन्।

बिहीबार चलचित्र संघको बैठकले आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय गरेको थियो।

हलहरूका छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले ‘आदिपुरूष’ वितरकले हटाइसकेको हुँदा सो फिल्म प्रदर्शन नहुने बताए।

मेयर शाहले ‘आदिपुरूष’ मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए। तर, यो संवाद नै फिल्ममा नभएको जानकारी निर्माता र चलचित्र सेन्सर बोर्ड, नेपालले समेत दिइसकेको छ।

यद्यपि मेयर शाहले भने अदालतको फैसला नमान्ने भन्दै ‘आदिपुरूष’ र हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका छन्। उनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानून र अदालतलाई नमान्ने टिप्पणी गरेका छन्।

उनले अदालत र सरकारलाई भारतको गुलामको आपत्तिजनक अभिव्यक्तिसमेत दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर