बूढानीलकण्ठ धर्मशालाको उद्घाटन

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३ मा निर्मित बूढानीलकण्ठ धर्मशाला (अतिथि गृह) को उद्घाटन गरिएको छ। बुधबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मशालाको उद्घाटन गरेका हुन्।

बूढानीलकण्ठ मन्दिरका मठाधिस स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरू गगनकुमार थापा र प्रदीप पौडेल, भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा. शिवराज पण्डित, बूढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकार र भारतीय राजदूतावासका पदाधिकारीको उपस्थितिमा धर्मशाला उद्घाटन गरिएको हो।

भारत सरकारको करिब ५ करोड रूपैयाँ अनुदान सहयोगमा सो धर्मशाला निर्माण भएको हो। नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत यो परियोजनाको निर्माण भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरूको संरक्षण एवम् पुनर्निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिकाबमोजिम बूढानीलकण्ठ मन्दिरको पुनर्निर्माण भएको हो। केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) र शहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो।

नवनिर्मित साढे तीन तल्ले धर्मशालाले बूढानीलकण्ठ मन्दिरमा आउने हजारौं तीर्थयात्रीलाई सेवा दिनेछ। नेपालको पवित्र सांस्कृतिक एवम् धार्मिक स्थलहरूमध्येको एक बूढानीलकण्ठ मन्दिरको ठूलो महत्त्व रहेको छ।

यस परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यमा नेपाल सरकारले गरेको प्रयासको कदर गर्ने राजदूतावासको भनाइ छ।

उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले पुर्‍याएको सहयोगको सराहना गरे।

भारत सरकारले नेपालको सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता गरेको छ। यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदानअन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य भवन पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर