सेनाको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमबाट ३३ जना प्रशिक्षित

नेपाली सैनिक वार कलेजमा गत चैत १ गतेदेखि सञ्चालन भएको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम आज सकिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले कार्यक्रमको समापन गैदै सफलतापूर्वक तालिम सम्पन्न गरेकामा सम्पूर्ण शिक्षार्थीहरूलाई बधाई दिए । उनले यस तालिमले शिक्षार्थीहरूलाई थप व्यावसायिक एवं परिष्कृत बनाउनाका साथै अपरेसनल तहको कमान्डर तथा स्टाफको हैसियतले रणनीतिक तहका नेतृत्व वर्गले तय गरेका लक्ष्य तथा उद्देश्यहरू पूरा गर्न र तल्लो तहका कमान्डरहरुलाई उक्त मार्गमा डोहाेर्‍याउने गहन जिम्मेवारी उत्कृष्ट ढङ्गबाट सम्पन्न गर्न सक्षम तुल्याउने बताए ।

प्रधानसेनापति शर्माले शिक्षार्थी अधिकृतहरुले तालिमको दौरान प्राप्त गरेका ज्ञानलाई आगामी दिनहरुमा आफ्नो वृत्तिविकास र संस्थागत हितका लागि सामूहिक भावनाका साथ सदुपयोग गर्ने विश्वास व्यक्त गरे ।

कलेजका शिक्षाधिकृत उपरथी सहदेव खड्काले तालिमका बारेमा जानकारी गराएका थिए । महिला एक र पुरूष ३२ गरी ३३ जना महासेनानी दर्जाका शिक्षार्थीहरूको सहभागिता रहेको उक्त तालिममा समग्रमा महासेनानी वसन्तबहादुर गौतम प्रथम भएका थिए ।

त्यस्तै, व्यक्तिगत शोधपत्रतर्फ महासेनानी सुवास केसी र महासेनानी वसन्तबहादुर गौतम प्रथम भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम नेपाली सेनामा सैनिक अधिकृतका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो । विसं २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला १० सहित जम्मा तीन सय पाँचजना अधिकृत प्रशिक्षित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *