गायनमा उदाएका कर्ण

कर्णराज गिरी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ मा सहभागी भएपछि गायन क्षेत्रमा सक्रिय हुन थालेका छन् । कुनै समय ट्याक्सी चालक बनेर गायनलाई सपनामा मात्रै बाँचेका गिरी पछिल्लो समय मेला/महोत्सवमा समेत पुगे ।

सङ्गीत सिर्जना, शब्द रचना र गायनमा सक्रिय गिरी यस क्षेत्रमा उदाउँदै गरेको नाम हो । भ्वाइस अफ नेपालको मञ्चबाट उनले साङ्गीतिक यात्रा सुरू गरेका थिए । ‘एक दशकको सङ्घर्षपश्चात् गायनका विभिन्न विधामा काम गर्न सफल भएको छु,’ उनले भने, ‘परिवारमा साइँला दाइबाहेक अन्यको सङ्गीतसँग नाता जोडिएको थिएन । आफ्नै सङ्घर्षले यहाँसम्म आउन सफल भएको छु ।’

बाल्यकालमा रेडियो नेपाल सुन्दै ‘जति चोट दिन्छौँ देउ मायालु’, ‘हजार आँखा हेर्ने’, ‘पर्खी बसेँ’ लगायत गीत गुनगुनाउने र अभ्यास गर्ने गरेको गिरीले अनुभव सुनाए ।

सर्लाहीबाट काठमाडौँ आएर सङ्गीतको प्रशिक्षणपछि गायनमा सक्रिय भएका गिरीले आफ्नो सफलता आमासँग साट्न पाएनन् । ‘भ्वाइसको उत्कृष्ट नौमा हुँदा नै आमाको देहान्त भयो । उनले बाख्रा बेचेर पठाउनु भएको केही रकम लिएर काठमाडौँमा सङ्गीतको विद्यार्थी बनेको थिएँ,’ गायक गिरीले भने, ‘पेटका लागि गर्नुपरेको सङ्घर्ष र भोग्नुपरेको सास्तीबाट मुक्त भए पनि साङ्गीतिक क्षेत्रमा भने सङ्घर्ष छँदैछ ।’

उनका ‘सुन माकुरी’, ‘ह्याङ बनायौँ’, ‘भाइरल भयो रे’, ‘तिम्रो आँखा गाजलु’, ‘गोरू झालेमाले’ लगायत गीत चर्चित छन् । पछिल्लो समय सार्वजनिक भएको ‘लुकीलुकी’ युट्युबमा दश लाख बढी पटक हेरिसकिएको छ ।

सर्जकका लागि हरेक गीत सिर्जना गर्दा उस्तै मेहनत लाग्ने गायक गिरीको बुझाइ छ । ‘पछिल्लो गीतको सफलताले गायकको सम्पूर्ण सफलता निर्धारण गर्दैन, हरेक पटकको सिर्जनाका लागि समान मेहनत आवश्यक पर्छ,’ उनले भने, ‘त्यसैले हामीले गर्ने मेहनतमा कुनै कसर बाँकी राख्दैनौँ ।’

शास्त्रीय गायनका विद्यार्थी रहनुभएका गिरी आजभोलि मेला-महोत्सवलाई लक्षित गर्दै नृत्य गर्ने किसिमका गीतको सिर्जनामा पनि सक्रिय छन् । ‘सबै किसिमको गीत गर्नुपर्छ भन्ने लागेर गायनसँगै नाच्ने गीत सिर्जना गरिरहेको छु,’ गायक गिरीले भने, ‘यसले आफुलाई हरेक विधामा परिक्षण पनि गर्दछ ।’ एक दशकको सङ्घर्षपछि उनले आफ्नो साङ्गीतिक सपनामा ‘उडान’ भर्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर