बारामा १५७ किलो गाँजासहित ७ जना पक्राउ

बारामा १५७ किलोग्राम अवैध लागुऔषध गाँजासहित ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४ जना भारतीय नागरिक छन्।

आइतबार साँझ ६ बजे जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित जंगलमा अवैध लागुऔषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो।

प्रहरीले उनीसँग सोधपुछ गर्दा अन्य ६ जनाको समेत संलग्नता खुलेको हो। उनीहरूलाई पनि पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दधिराम न्याैपानले जानकारी दिए।

इलाका प्रहरी कार्यालय, सिमराबाट डीएसपी प्रदीपबहादुर क्षेत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले सुरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३९ वर्षीय रोशन नेगीलाई पक्राउ गरेको थियो।

जंगलमा पुगेर खोजतलास गर्दा बा ११ च ४९९२ नम्बरको स्करपियोमा गाँजा ओसारपसार गरिरहेको अवस्थामा नेगी पक्राउ परेका थिए।

प्रहरीले उनले चलाएको स्करपियोबाट ६ पोकामा प्याक गरिएको १५७ किलोग्राम गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय, सिमराले नेगीलाई गाँजा र स्करपियोसहित पक्राउ गरेर लागुऔषध मुद्दामा कानूनी कारबाहीको प्रक्रिया अघि बढाएको छ।

अनुसन्धानका क्रममा यस कार्यमा संलग्न अन्य ६ जनासमेत पक्राउ परेका हुन्।

भारतको बहराइज जिल्लाका २६ वर्षीय अलि अहमद भाट, मोतिहारी जिल्लाका २३ वर्षीय जमालुदिन खान, १८ वर्षीय देव कुमार र ३५ वर्षीय जागिरदिन मियाँ पक्राउ परेका हुन्।

यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका-९ का ३० वर्षीय मुकेश लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ का ३३ वर्षीय बुद्ध पाख्रिन पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेट बीआर०५जी८६५६ नम्बरको पिकअप र बीआर०५एजेड८९६१ नम्बरको पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर