आर्थिक वृद्धिको लक्ष्यमा सकारात्मक संकेत देखिइसकेको छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा क्रमिक रूपमा सकारात्मक संकेत देखिइसकेको दाबी गरेका छन्। जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रमा सकरात्मक संकेत देखिँदै गएको भन्दै लक्ष्यअनुसारको आर्थिक वृद्धि हासिल हुने दाबी गरे।

‘लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन्छ। ६ प्रतिशतको आर्थिक लक्ष्य राखेका छौं, विश्व बैंकलगायत अन्य संस्थाहरूले गहन अध्ययन गरिरहेका छन्,’ मन्त्री महतले भने, ‘उनीहरूले पनि झन्डै देशको आर्थिक वृद्धि पुग्छ भनेका छन्। त्यसमा हामी अत्यन्तै मेहनत गरिरहेका छौं। आर्थिक प्रशासनमा अनुसाशन र प्रशासन कायम गर्नेतर्फ मेरो सम्पूर्ण जोड छ।’

बजेटमा कृषि क्षेत्रमा गरिएको उत्पादनमुखी अनुदानको व्यवस्था, नेपालमा उत्पादित वस्तुमा लगाइने कम करको दर, विभिन्न सौलियतपूर्ण ब्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था, ठेक्का प्रणालीमा सुधार, विदेशी लगानी बढी परिचालन भएको जस्ता कुराले आर्थिक क्षेत्रमा सकारात्मक र क्रमश सुधार हुँदै गएकाले लक्ष्यअनुसारको आर्थिक वृद्धि हुने संकेत देखिएको उनले बताए।

‘विदेशी सहयोग पनि बढी परिचालित भैरहेको छ। कार्यान्वयनलाई सहज बनाउनको लागि ठेक्का पट्टा प्रणालीमा सुधारको कुरा गरिरहेका छौं, समयमै ठेक्का लाग्नुपर्ने, स्रोतको सुनिश्चितताको लागि प्राथमिकताको आयोजनाहरूमा मात्र खर्च गर्ने गरी बजेटको सुनिश्चितता गर्ने लगायतका कार्य गरिराखेको हुनाले आर्थिक वृद्धि हुन्छ,’ उनले भने, ‘पहिला पर्यटन कोभिडको कारणले रोकिएको थियो अहिले पर्यटकहरू पनि आउन थालेका छन्। आईटी सेक्टरमा नेपालीले ठूलो लगानी गरी निर्यात गरिराखेका छन्। यसकारण आर्थिक वृद्धिको संकेतहरू देखिएको छ।’

बैंकको ब्याजदर घटेपछि अर्थतन्त्रमा क्रमिक रूपमा सधार आइरहेको भन्दै उनले आर्थिक विकासका लागि सकरात्मक छलफल आवश्यक रहेको बताए।

‘अब आवश्यकता के छ भने सकारात्मक छलफलको हो। सबै खराब भयो भनेर नकारात्मक कुरा मात्रै सामाजिक सञ्जाल, मिडियामा आउने सकारात्मक कुरा गर्दै नगर्ने,’ महतले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर