कांग्रेस सहमहामन्त्री आङ्देम्बे भन्छन्- बालेन शाहलाई कांग्रेसमा ल्याउनुपर्छ

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले काठमाडौं महानगरपालिकाका स्वतन्त्र नगरप्रमुख बालेन शाहलाई पार्टीमा ल्याउने वातावरण बनाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको काठमाडौंमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै युवा पुस्तामाझ सामान्य र क्रियटिभ काम गरेरै काठमाडौंका स्वतन्त्र नगरप्रमुख बालेन शाह चर्चामा रहेको उनले बताए। क्रियटिभ अभियानको नेतृत्व गरेका शाहलाई कांग्रेसमा ल्याउने वातावरण बनाउन आङ्देम्बेको आग्रह थियो।

‘अब त्यो अभियानको नेतृत्व नेपाली कांग्रेसले नै गरेर बालेनजी जस्तो क्रियटिभ साथीलाई पनि पार्टीविहीन बस्न नदिने, अब उहाँलाई पनि कांग्रेसमै ल्याउने वातावरण पनि यही नेपाली कांग्रेसले गर्नुपर्छ। यसको लागि पनि क्षेत्र नं. तीनबाट तपाईंहरूले सुरू गर्नुहोस्।’

तर, उनले आफ्नो पार्टीले काठमाडौं र मुलुक विकासको नेतृत्व गर्दै अर्बौंको भौतिक संरचना निर्माण गरे पनि त्यसको प्रचार नगरेको दाबी गरे।

उनले भने,‘जसको कुनै पार्टी छैन र पनि सगरमाथ भन्दा अग्लो चर्चाको शिखरमा हुनुहुन्छ बालेन शाह। हामीले के कुरा बिर्सिराख्यौं भन्दाखेरि नेपाली कांग्रेसले करोडौं खर्बौं खर्च गरेर काठमाडौं र यो मुलुकलाई व्यवस्थित गर्नको निम्ति पुल-पुलेसाहरू, भौतिक संरचनाहरू बनाइदिएका छौं। हामीले करोडौं, अर्बौंको पुलको कुरा कहिल्यै पनि गरेनौं।’

सहमहामन्त्री आङ्देम्बेले महानगर सुन्दर बनाउने अभियानअन्तर्गत बालेन शाहको नेतृत्वमा बिजुलीबजारको पुलमा राखिएको फूलको गमला र त्यसको सौन्दर्यको चर्चा धेरै भएको धारणा राख्दै बालेनको विकास मोडेल कांग्रेसले अपनाउनुपर्ने बताए।

‘पुलमाथि राखिएको गमलाको कुरा गरिराख्यौं। गमलामा रोपेको फूलको कुरा गरिराख्यौं। गमला र फूलसँगको त्यो चर्चामा मात्रै हामीहरू रमायौं। यो नराम्रो थिएन। आजको पुस्ता सेल्फी खिच्ने र टिकटकको पुस्ता रहेछ। त्यो टिकटक पुलसँग नबन्दो रहेछ। त्यो सेल्फी पुलसँग नखिचिँदो रहेछ,’ उनले भने, ‘सेल्फी खिच्नको लागि गमला र फूल नै चाँहिदो रहेछ। अनि पुलको हैन गमला र फूलको मात्रै चर्चा भयो। त्यसकारण हामी पुल बनाउने पार्टीले १००० रूपैयाँको गमला किन राख्न सक्दैन? गमला राखिसके पछाडि ५०० को फूल किन राख्न सकेन?’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *