सहकर्मी कुटपिटको विरोधमा केएमसी अस्पतालका डाक्टर दोस्रो दिन पनि आन्दोलनमा

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकहरू सहकर्मीमाथि हातपात भएको विरोधमा दोस्रो दिन पनि काम छाडेर प्रदर्शनमा उत्रिएका छन्।

इन्टर्नका डाक्टरमाथि हातपात भएको भन्दै उनीहरूले काम बन्द गरेर आज दोस्रो दिन पनि अस्पतालअगाडिको सडकमा धर्ना दिइरहेका छन्।

आन्दोलनमा सहभागी डाक्टर कमलराज शाहले सहमतिको मसी नसुक्दै यस्तो घटना दोहोरिनु कानूनमाथि जनताको विश्वास उठ्नु भएको दाबी गरे।

उनले भने, ‘यो घटनामा संलग्न दोषीलाई सजाय दिनको लागि हामीले आफ्नो आफ्नो स्थानबाट माग गर्नुपर्छ। अस्ति भर्खर सहमति भएको ऐन जुन छ, यसलाई पनि अझ प्रचार गर्न आवश्यक भएको देखिएको छ।’

यस्तै अर्का डाक्टर अंकित आचार्यले यसरी नियम-कानून कसैले पनि आफ्नो हातमा लिन नमिल्ने भन्दै यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताए।

उनले भने, ‘यो घटना दर्ता गर्न मानिरहेको थिएन। हामीले हिजो रातिको ११ बजेसम्म यहाँ बसेर गृहमन्त्रीको फोन आएपछि बल्ल घटना दर्ता गर्नुभयो। यस्तो हुनुभएन। नियम-कानून कसैले पनि आफ्नो हातमा लिन मिल्दैन।’

डाक्टर खड्कामाथि हातपात गरेको आरोपमा प्रहरीले रूपक गौतम तथा सरोज गौतमलाई पक्राउ गरेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर