लैंगिक हिंसाजन्य कसुर सम्बोधनलाई उच्च प्राथमिकतामा राख्नुपर्छ : महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लैंगिक हिंसाजन्य कसुर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडित तथा हिंसा प्रभावितको सेवामा कटिबद्ध रहनुपर्ने बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘लैंगिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले ‘प्रहरी कर्मचारी संलग्न लैंगिक हिंसाविरूद्ध शून्य सहनशीलता र यसको प्रभावकारी कारबाहीसम्बन्धी कार्य-आदेश, २०८०’ मा हस्ताक्षर गरी सुरूआत गरे ।
प्रहरी महानिरीक्षक कुँवरले लैंगिक हिंसाबाट पीडित तथा प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूमा न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्धार, पुनर्स्थापनाका साथै लैंगिक हिंसा न्यूनीकरण गर्ने लक्ष्यका साथ  इलाकास्तरसम्म महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरू स्थापना भई सेवा प्रवाह हुँदै आइरहेको बताए ।
प्रविधिको विकास र आधुनिक समाजमा देखा परेका लैंगिक हिंसाका स्वरूप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले थपेका चुनौतीहरूलाई प्रविधिमैत्री तवरबाट समाधान गरी पीडितलाई न्याय प्रदान गर्न प्रयासहरू केन्द्रित भएको उनले बताए ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले धन्यवाद मन्तव्य गरेको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले स्वागत मन्तव्य तथा गोष्ठी सम्बन्धी जानकारी दिएका थिए ।
प्रहरी उपरीक्षक रञ्जु सिग्देलले ‘लैंगिक हिंसाको वर्तमान अवस्था : तथ्य, चुनौती र आगामी कार्यदिशा’ सम्बन्धी प्रस्तुतीकरण गरेको उक्त गोष्ठीमा गृह मन्त्रालयका उपसचिव रामबहादुर शाही, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव ममता बास्तोला, राष्ट्रिय मानव अधिकार आयोगकी उपसचिव नितु गर्तौला, राष्ट्रिय महिला आयोगकी उपसचिव सीता अधिकारी र स्वास्थ्य सेवा विभागकी उपसचिव शर्मिला पौडेलले आ-आफ्नो धारणा व्यक्त गर्दै लैंगिक हिंसा न्यूनीकरणमा सबै सरोकारवाला पक्षहरूको आपसी समन्वय र सहकार्य हुनुपर्ने बताए ।
आज शुभारम्भ भएको कार्यादेशले प्रहरी कर्मचारी संलग्न भएका लैंगिक हिंसाको अनुसन्धान प्रभावकारी गर्न आवश्यक समयसीमासहितको कार्यान्वयन विधि र समग्र लैंगिक हिंसाको रिपोर्टिङको निश्चित आधारहरू व्यवस्था गरी निरन्तर फलोअप गरी प्रभावकारी कारबाही गर्न प्रत्यक्ष नियमन गर्ने संयन्त्र स्थापना हुने उक्त अवसरमा जानकारी दिइयो ।
गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, सञ्चारकर्मीलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयद्वारा लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा उक्त गोष्ठीको आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय नारा ‘महिला र बालिकाहरूविरूद्ध हिंसा रोक्न एककृत लगानी’ र ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म उक्त अभियान देशव्यापी रूपमा मनाउन लागिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *