११ किलो सुन तस्करी प्रकरण : ३ जनालाई धरौटीमा छाडेर ९ जनालाई थुनामा पठाउन आदेश

दोलखाबाट ११ किलो सुन तस्करी गरिएको घटनामा जिल्ला अदालतले ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । तीन जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आलुको बोरामा सुन लुकाएर तस्करी गर्दै गर्दा दोलखा प्रहरीले बिगु गाउँपालिका-१, लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र सुनसँगै पक्राउ परेकाहरूको बयानका आधारमा लामाबगरमा ढुंगामुनि लुकाएको अवस्थामा थप ४ किलो गरी जम्मा ११ किलो सुन बरामद गरेको थियो । यस प्रकरणमा अनुसन्धान गरी २६ जनाविरूद्ध अभियोगपत्र दर्ता भएको थियो ।

जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठले शुक्रबार नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र तीन जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

चिनियाँ नागरिकसँग मिलेर सुन तस्करीमा संलग्न महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रूपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रूपैयाँ र तिलक विकबाट ८८ लाख रूपैयाँ धरौटी लिन अदालतले आदेश दिएको छ । महिमाविरूद्ध ३१ करोड ११ लाख ७० हजार ४४६ रूपैयाँ १५ पैसा बिगो तथा दीपेन्द्र शाक्य र तिलक विकविरुद्ध २० करोड ७४ लाख ४६ हजार ९६४ रुपैयाँ १० पैसा विगो कायम गरी मुद्दा दायर भएको थियो ।

यही समूहका दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रू, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधवकुमार मगरलाई थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय पठाइदिन अदालतको आदेश छ । केशर तामाङ र माधवकुमार मगरले ११ किलो सुन बोरामा राखेर ओसार पसार गर्दै लुकाइछिपाइ राखेको अवस्थामा बरामद भएको थियो ।

यसैगरी सुनमाला तामाङ र चेतनाथ न्यौपानेलाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

पक्राउ परेकामध्ये चिनियाँ नागरिक गेङ्रूले नै चीनबाट सुन मगाएर काठमाडौंमा बेच्ने गरेको पाइएको थियो । यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो । पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो । त्यही अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरू पक्राउ परेका थिए ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय, दोलखाबाट अनुसन्धान भइरहे पनि यसमा संगठित अपराधको कसुर पनि आकर्षित हुने भएपछि सीआईबीले पनि अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *