रूसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु, एक जना युक्रेनमा बन्दी (विवरणसहित)

युक्रेनसँग युद्धरत मुलुक रूसको सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु भएको सरकारले पुष्टि गरेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मृत्यु भएकाहरूको विवरण सार्वजनिक गरेको हाे ।

मन्त्रालयका अनुसार गोरखाका सन्दीप थपलिया, वाणगंगा-१ कपिलवस्तुका रूपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार-५ स्याङ्जाका पितम कार्की, मेलुङ-६ दोलखाका राजकुमार रोका र इलाम-५ इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो ।

रूसी सरकारलाई उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन समेत अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नेपाली नागरिक विवेक खत्री रूसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेको जनाउँदै मन्त्रालयले उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको बताएको छ ।

मन्त्रालयले सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रूस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्न अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *