सर्‍याे एकीकृत समाजवादीको महाधिवेशन

नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन सरेको छ ।पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हाे।

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार मदन-आश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन सुरू हुनेछ। महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको छ। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो।

साथै माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय एकीकृत समाजवादीले गरेको छ। यही मंसिर २८ र २९ गते सचिवालय बैठक बस्ने, पुस ९ गते स्थायी कमिटी, पुस १० गते पोलिटव्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि भएको खतिवडाले बताए।

सचिवालय बैठकले राष्ट्रिय सम्मेलनमा विधानका कतिपय व्यवस्थाबारे छलफल गर्न एक कार्यदल बनाउने निर्णय पनि गरेको छ। उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको कार्यदल बनेको हो।

राष्ट्रिय सम्मेलनको व्यवस्थापन कमिटी पनि बनाइएको छ। गंगालाल तुलाधरलगायत रहेको कमिटी बनाएर जिम्मेवारी दिइएको उनले बताए।

दस्तावेज मस्यौदाका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको खतिवडाले बताए। पार्टीले संगठन सुदृढीकरणका लागि पनि अभियान सञ्चालनको तयारी गरेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *