राजसंस्थासहितको हिन्दु राष्ट्र पुनर्स्थापना र प्रदेश खारेजीका लागि राप्रपाले घोषणा गर्‍याे आन्दोलन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थासहितको हिन्दु राष्ट्र पुनर्स्थापना र प्रदेश तह खारेजीका लागि देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

आइतबारदेखि सुरू पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पुस र माघमा देशभर सभा र तयारीका कामहरू गर्ने पनि निर्णय गरेको छ ।

फागुन महिनामा मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यस्तै आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ ।

डा. धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ ।

कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदनलगायत प्रदेश कार्यसमितिका प्रतिवेदनहरू परिमार्जनसहित पारित गर्ने निर्णय भएको पनि पार्टी अध्यक्ष लिङ्देनले बताए ।

उनका अनुसार बैठकले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित परिवारहरूलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले एनसेल अजियाटाको शेयर खरिद-बिक्रीमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन गर्न माग गरेको छ । त्यस्तै रूस-युक्रेन युद्धमा होमिएका नेपाली युवाहरू फिर्ता तथा हमासको कब्जामा रहेका विपिन जोशी एवं युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरूको शीघ्र रिहाइका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *