बल्खुमा महिलाको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका-१४, बल्खुस्थित बोक्सिदह डाँडामा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरूलाई ६ वर्षपछि पक्राउ गरेको छ ।

२०६४ पुस ३० गते बल्खुस्थित भूमेश्वरी मन्दिरपछाडि बोक्सीदह डाँडामा अन्दाजी ५० वर्षकी महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतक नारायणी तिमल्सिना रहेको पत्ता लगाएको थियो ।

सो हत्यामा संलग्न दुई जनालाई कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नं. १४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३, तल्लोपोखराका ४६ वर्षीय शिवराम अधिकारी रहेका छन् । अधिकारी २०७९ कात्तिक २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धान अधिकृतले बताएअनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिन मात्रै भएको थियो ।
शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई ‘भूपू आर्मीसँग विवाह गराइदिन्छु, १५/२० हजार रूपैयाँ पैसा लिएर र गरगहना लगाएर राम्रो भई आउनू’ भन्दै फोन गरेर बोलाएका थिए ।

माछापोखरी क्षेत्रमा ३ जनाको भेट भएपश्चात् २/३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु क्षेत्रमा खोला किनारमा मन्दिर पछाडि बसेका थिए ।

शिवराम अधिकारी र मृतक दुई घण्टा सँगै सुतेका थिए । सोही क्रममा अधिकारी र विकले ढुंगा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद ६/७ सय रूपैयाँ निकालेका थिए । त्यसपछि गाडी चढेर गोंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा गई बसेका थिए भने अर्को दिन बिहान पूर्व जाने गाडी चढेर फरार भएका थिए ।

आरोपी नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले जगत विकलाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा अर्का आरोपी शिवराम अधिकारी २०७९ कात्तिक २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरेर अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर