सिभिल इन्जिनियर आदित्यप्रतीक सिंह सिसोदिया कसरी बने बलिउड संगीतका ‘बादशाह’?

यदि तपाईं बलिउड नाइट क्लबमा धमाकेदार गीतहरूमा नाच्दै हुनुहुन्छ भने त्यसमा बादशाहको गीत पनि समावेश हुने सम्भावना प्रबल हुन्छ। आफ्नो अनौठो गायनका लागि चर्चित र्‍यापर बादशाहले गीत गाएपछि मानिसहरू ननाची रहन सक्दैनन्।

बादशाह युवाहरूमा मात्र होइन, बालबालिका र वृद्धवृद्धाहरूमा पनि उत्तिकै लोकप्रिय छन्। आफ्ना गीतहरूमा र्‍यापको अलग स्वाद दिने बादशाह र्‍याप नै आफ्नो जीवन भएको बताउँछन्।

विगत एक दशकमा र्‍यापर बादशाहले भारतीय संगीत उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। उनले धेरै हिट गीत दिएका छन्, जस्तैः ‘अभी तो पार्टी सुरू हुई है’, ‘काला चस्मा’, ‘बेबी को बेस पसन्द है’ आदि।

बादशाह सन् १९८५ मा दिल्लीमा जन्मिएका हुन्। संगीत करियर सुरू हुनुअघि उनी इन्जिनियरिङ पेसामा थिए। उनले चण्डीगढमा सिभिल इन्जिनियरिङ पढेका थिए।

अध्ययनको क्षेत्र इन्जिनियरिङ भए पनि बादशाहको रूचि भने र्‍यापमा थियो। अन्ततः सन् २००६ मा उनले आफ्नो संगीत करियर सुरू गरे।

हनी सिंहका साथ हिपहप समूह ‘माफिया’ बाट उनले आफ्नो संगीत करियर सुरू गरेका थिए। तर, केही विवाद सिर्जना भएपछि सन् २०१२ मा बादशाहले हनी सिहंको साथ छाडे।

धेरैलाई लाग्न सक्छ, यी बहुचर्चित र्‍यापरको वास्तविक नाम बादशाह नै हो। तर, यिनको वास्तविक नाम भने आदित्यप्रतीक सिंह सिसोदिया हो।

बादशाह भारतको सबैभन्दा धेरै कमाउने गायकमध्येमा पर्छन्। यति मात्र नभई फोर्ब्स इन्डियाको १०० सेलिब्रेटी सूचीमा पनि बादशाहको नाम धेरै पटक समावेश भइसकेको छ।

आखिर कसरी बने त सिभिल इन्जिनियर आदित्यप्रतीक सिंह सिसोदिया बलिउड संगीत उद्योगको ‘बादशाह’? बलिउड अभिनेता शाहरूख खानको एक चलचित्रबाट प्रभावित भई उनले आफ्नो नाम बादशाह राखेका हुन्।

संगीत करियरको सुरूआती दिनमा आफ्नो नाम ‘कुल इक्वेल’ राखेका उनले पछि बदलेर बादशाह राखेका हुन्।

उनी भन्छन्, ‘म शाहरूख खानको ठूलो फ्यान थिएँ। जब म आफ्नो स्टेजका लागि नाम खोज्दै थिएँ, तब एक दिन मैले शाहरूखको फिल्म ‘बादशाह’ हेरेँ र त्यो हेरेपछि मैले आफ्नो नाम बदलेर बादशाह राखेँ। मलाई यो धेरै मन पर्‍याे।’

आफूले धेरै चुनौतीको सामना गरेर अहिलेको गन्तव्यमा पुगेको स्मरण गर्दै बादशाह मनदेखि काम गरे लक्ष्य प्राप्त हुने बताउँछन्।

उनी भन्छन्, ‘मैले इन्जिनियरिङमा भर्ना लिएको थिएँ तर मेरो मन र्‍यापमा थियो। यसका लागि मैले धेरै चुनौतीहरूको सामना गरेँ र अन्ततः मेरो गन्तव्यमा पुगेँ। मलाई लाग्छ कि तपाईं जे पनि आफ्नो मनबाट गर्नुहुन्छ, तपाईंले शतप्रतिशत दिनुहुन्छ। त्यसैले मैले मेरो मनको कुरा सुनेँ र आफ्नो करियर यही दिशामा बनाउने निर्णय गरेँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *