सरकारी कार्यालयहरूले सामाजिक सञ्जाल चलाउनुपर्ने, टिकटक पनि निर्देशिकामा

सरकारले सूचना सम्प्रेषणका लागि सरकारी कार्यालयहरू आफैँले सामाजिक सञ्जाल चलाउनुपर्ने व्यवस्था गरेको छ। सामाजिक सञ्जाल सञ्चालनलाई व्यवस्थित गर्न मन्त्रिपरिषद्ले बिहीबार ‘सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८०’ जारी गरेको छ । केही समयअघि सरकारले प्रतिबन्ध लगाएको टिकटकलाई पनि निर्देशिकाले सामाजिक सञ्जालको परिभाषामा समेटेको छ ।

कतिपय सरकारी कार्यालयले सामाजिक सञ्जाल सञ्चालन गरिरहेका भए पनि धेरैजसो सक्रिय देखिँदैनन् । अधिकांशले सुरु नै गरेका छैनन् । सरकारी कार्यालयबाट सञ्चालन हुने सबै सामाजिक सञ्जालका माध्यमलाई व्यवस्थित बनाई सूचना तत्काल सम्प्रेषण गर्ने र नागरिकका गुनासा शीघ्र सम्बोधन गर्दै सुशासनको प्रत्याभूति गर्न भन्दै सरकारले निर्देशिका जारी गरेको हो ।

यो निर्देशिका जारी भएसँगै यसअघि कायम रहेको सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५ खारेज गरिएको छ ।

निर्देशिकाले सामाजिक सञ्जालको परिभाषामा फेसबुक, मेसेन्जर, ट्विटर, भाइबर, इन्स्टाग्राम, युट्युब, गुगलप्लस, ह्वाट्सएप, इमो, टिकटक, विच्याट, स्न्यापच्याटलगायतका अन्तरक्रियात्मक प्रकृतिका विद्युतीय माध्यममा सञ्चालित सञ्जालहरूलाई समेटेको छ । सरकारले केही समयअघि प्रतिबन्ध लगाएको टिकटकलाई पनि निर्देशिकाले सामाजिक सञ्जालको परिभाषामा समेटेको छ ।

कुनै पनि सरकारी कार्यालयले आफूले गरेका वा भविष्यमा गर्ने कामकारबाहीबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस्ता सूचनामा सर्वसाधारणको पहुँच स्थापित गर्न उपयुक्त सामाजिक सञ्जालको युजर अकाउन्ट खोली सञ्चालनमा ल्याउनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । यसरी खोलिएको अकाउन्टमा कार्यालयको आधिकारिक लोगो वा तस्बिर प्रयोग गर्नुपर्ने र कभर तस्बिरमा कार्यालयको परिचय दिनुपर्नेछ । सामाजिक सञ्जालको युजर अकाउन्टमा सम्बन्धित कार्यालयको आधिकारिकता खुल्ने तथा सर्वसाधारणले पहिचान गर्न सक्ने गरी पूरा नाम, ठेगाना, सम्पर्क नम्बर र इमेलसहितको अन्य आवश्यक विवरण नेपाली र अंग्रेजी दुवै भाषामा राख्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *