सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज होला त फैसला?

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको फैसला गर्न आज (आइतबार) का लागि पेसी तोकिएको छ।

काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन। यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ।

पछिल्लोपटक गत मंसिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ।

तर यो मुद्दामा किशोरीको उमेर नै एकिन हुन सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *