पर्वतमा लाटोकोसेरो उत्सव हुने

पर्वतको जलजला गाउँपालिका-५, फलामेडाँडामा पहिलो पटक लाटोकोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे-फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो ।
प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटोकोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिने भएको छ । स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटोकोसोरो संरक्षण अभियन्ता राजु आचार्यले जानकारी दिए ।
अवैध चोरीनिकासी, वन विनाश, विषादीको प्रयोगलगायत कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथि नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताए । उनका अनुसार लाटोकोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटलीमा मात्र हुँदै आएको छ ।
‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने लाटो कोसेरो उत्सवमा लाटोकोसेरोसम्बन्धी जानकारी भएको सूचना, चित्र तथा फोटो प्रदर्शनी लाटोकोसेरोको नमूना चित्रकला प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
नेपालमा पाइने २३ प्रजातिका लाटो कोसेरोमध्ये आठ प्रजातिका दुर्लभ किसिमका छन् । पहिलो पटक आयोजना गरिएको यो उत्सवले लाटोकोसेरो संरक्षणका लागि समुदायको चेतना अभिवृद्धिका साथै फलामेडाँडाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय युवा पुर्ख पूर्जा पुनले बताए ।
नेपालबाट बर्सेनि लोटोकोसेरो तथा हुचिल जातको पंक्षी चोरी सिकारी हुँदै गए पनि संरक्षणको अभावमा लोप हुँदै गएको छ । बर्सेनि करोडौँ मूल्यको लाटो कोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्कारी हुने गरेको छ ।
लाटोकोसेरोलाई किसानको साथि पनि भन्ने गरिन्छ । कृषकले मेहिनत गरी उब्जाएको अन्नबाली खाएर दुःख दिने मुसो लाटोकोसेरोको मुख्य आहारा हो । यसले राति मात्र आँखा देख्छ र रातमा मात्र मुसाको शिकार गर्छ । यो पंक्षीको टाउको झट्ट हेर्दा बिरालोजस्तो देखिए पनि यसको शरीर पंक्षीको जस्तै हुन्छ । तर यसको सङ्ख्या बर्सेनि घट्ने क्रममा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *