कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिँदै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार सकिने भएकाे छ। बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे शुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

शनिबारको बैठकमा पदाधिकारीले बोल्ने कार्यसूची रहेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। उनका अनुसार बिहीबार र शुक्रबारको बैठकमा गरी मन्त्रीहरुसहित ४८ जनाले आफ्नो धारणा राखेका छन्।

बैठकमा ६ मन्त्रीले आफ्ना कामको विवरण पेश गरेका थिए। प्रधानमन्त्रीले गत मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन र पार्टीका मन्त्रीहरूले बैठकमा गरेको ‘ब्रिफिङ’का आधारमा कांग्रेसले सरकारको एक वर्षमा भएका कामका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने विश्वकर्माले बताए।

राष्ट्रियसभा निर्वाचनका लागि योगदान र मूल्यांकनका अधारमा उम्मेदवार छनोट गर्नुपर्ने भन्ने सैद्धान्तिक निर्णय बैठकले गर्नसक्ने उनले जानकारी दिए। त्यसैगरी महासमिति बैठकको तयारी, पुस १६ गते मनाउने राष्ट्रिय मेलमिलाप दिवस लगायतका विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए। बैठक बिहीबारदेखि सुरु भएकाे थियाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *