भोजपुरमा हत्यापछि फरार अभियुक्त ३० वर्षपछि ललितपुरबाट पक्राउ

प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई ३० वर्षपछि पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं. ५, खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते राति पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले अभियुक्त राईलाई ललितपुरमा बसोबास गर्दै गरेको अवस्थामा पक्राउ गरी भोजपुर लगिएको जानकारी दिए ।
वि. सं. २०५० मङ्सिर ३ गते राईसहितको संलग्नतामा साविक कोट गाविसका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । हत्याका मुख्य प्रतिवादी शुक्रदेव राईको फरार रहेका अवस्थामा मृत्यु भइसकेको जानकारी आएको र सो सम्बन्धमा थप अनुसन्धान जारी राख्दै अन्य संलग्न प्रतिवादीको खोजी जारी रहेको प्रहरी प्रमुख पाठकले बताए ।
पक्राउ परेका पूर्णहाङलाई आज  जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरियो । वि. सं. २०६१ भदौ २८ गते जिल्ला अदालत भोजपुरबाट पूर्णहाङलाई घटनामा संलग्न रहेको भन्दै तीन वर्ष कैद सजायको फैसला भएको थियो । फरार रहेका मुख्य प्रतिवादी शुक्रदेवलाई भने अदालतले २० वर्षको कैद सजाय तोकेको थियो ।
वि. सं. २०५० कात्तिक २७ गते लक्ष्मी पूजाको दिन देउसी खेल्ने क्रममा प्रतिवादी शुक्रदेव, पूर्णहाङलगायत २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग वादविवाद भएको थियो । त्यसपछि  मङ्सिर ३ गते विवाद मिलाउने क्रममा झगडा भएपछि राजधनमाथि कुटपिट गर्नेक्रममा शुक्रदेव राईले खुकुरी प्रहार गरी कर्तव्य गरी उनको हत्या गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर