खोटाङमा सेनाले बनाइदियो हेलिप्याड, खेलमैदान र सार्वजनिक शौचालय

गोरखनाथ गण मुढे ब्यारेक, खोटाङमा कार्यरत नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका-८, धितुङमा हेलिप्याड, भलिबल खेलमैदान र सार्वजनिक शौचालय निर्माण गरेका छन् ।

मुढे ब्यारेकबाट खटिएका ३५ जना नेपाली सेनाको टोलीले दुई हप्ता लगाएर धितुङस्थित लोकेबर नजिकैको सार्वजनिक जग्गामा हेलिप्याड, भलिबल खेलमैदान र सार्वजनिक शौचालय निर्माण गरेका हुन् । त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने पर्यटक तथा आकस्मिक उद्धार गर्नुपर्ने अवस्थाका बिरामीका लागि उपयोगमा ल्याउने गरी धितुङस्थित लोकेबरमा हेलिप्याड निर्माण गरिएको मुढे ब्यारेकका गणपति प्रमुख सेनानी सुजन गुरूङले बताए ।

‘सभ्य समाज निर्माणका लागि सैनिक-नागरिकबीच सुमधुर सम्बन्ध हुनुपर्छ । स्थानीय नागरिकलाई परेको समस्या तथा आम नागरिकको सरोकारको विषयमा नेपाली सेनाको सदैव सहयोग रहन्छ,’ प्रमुख सेनानी गुरूङले भने, ‘त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने पर्यटक तथा आकस्मिक रूपमा उद्धार गर्नुपर्ने अवस्थाका बिरामीलाई लक्षित गरेर हेलिप्याड तथा स्थानीय युवाका लागि भलिबल खेलमैदान र शौचालय निर्माण गरिदिएका हौँ ।’

लोकेबरस्थित सार्वजिक जग्गामा निर्माण गरिएको हेलिप्याडमा एन नाइन्टिन हेलिकोप्टर (३५ जनासम्म मानिस अटाउन सक्ने क्षमताको हेलिकोप्टर) अवतरण तथा उडान भर्न मिल्ने गणपति गुरूङले जानकारी दिए ।

‘हेलिप्याडमा हेलिकोप्टर अवतरण तथा उडानका साथै भलिबल खेल्न मिल्ने व्यवस्था मिलाइएको छ । बहुउपयोगी हेलिप्याडमा भलिबल खेलका लागि गणको तर्फबाट चारवटा भलिबल र दुईवटा नेट (जाली)समेत उपलब्ध गराइएको छ,’ उनले भने, ‘दुईवटा भलिबल र एउटा नेट वडा नं. ७ महादेविस्थान र दुईवटा भलिबल र एउटा नेट वडा नं ८ धितुङका वडाध्यक्षलाई हस्तान्तरण गरिएको छ । भलिबल खेलमा सहभागी खेलाडी र हेलिकोप्टरमा आवतजावत गर्ने मानिसका लागि महिला-पुरूष छुट्टाछुट्टै शौचालयसमेत निर्माण गरिदिएका छौँ ।’

तीस मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको बहुउपयोगी हेलिप्याड निर्माणका लागि नगरपालिकाले जेसीबी र त्यसमा खपत भएको डिजेल (इन्धन) उपलब्ध गराएको जनाइएको छ । शौचालयका लागि भने नेपाली सेना आफैँले निर्माण सामग्रीसमेत खरिद गरेर सुविधायुक्त पक्की भवनसहितको महिला-पुरूष शौचालय निर्माण गरिदिएको नगर प्रवक्ता एवं वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

नेपाली सेनाले निर्माण गरेको हेलिप्याड, भलिबल खेलमैदान र शौचालय बुधबार हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख विमला राईले औपचारिक रूपमा उद्घाटन गरिन् । औपचारिक रूपमा आयोजना गरिएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राईले नेपाली सेनाको योगदानलाई नगरपालिकाले उच्च मूल्याङ्कनका साथमा सम्मान गर्ने योजना बताइन् ।

नगरपालिकाकै अधिनमा रहने गरी निर्माण गरिएको हेलिप्याड, भलिबल खेलमैदान र शौचालय उद्घाटन कार्यक्रममा नगर उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, खोटाङका गुल्मपति प्रहरी नायब उपरीक्षक कृष्णबहादुर बम, नगर प्रमुक्ता गिरी, अन्य वडाका वडाध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा नेपाली सेनाका जवानहरूले राष्ट्रभाव समेटिएको गीतमा साँगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।

हेलिप्याड परिसरमा छानासहितको एउटा प्रतीक्षालय आवश्यक देखिएकाले त्यसको व्यवस्थाका लागि नगरपालिकालाई सहयोग गरिदिन प्रमुख जिल्ला अधिकारी सुनारले प्रस्ताव राखे । कार्यक्रमका विशेष अतिथि प्रजिअ सुनारले राखेको प्रस्तावमा आफूहरू सहमत रहेको नगर प्रमुख राईले प्रतिक्रिया दिइन् । -रासस

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर