वीरगञ्जका मेयर सिंहविरूद्ध नक्कली बाबु बनेर युवतीलाई नागरिकता दिलाएको उजुरी

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह श्रेष्ठले किर्ते गरी नागरिकता दिलाएको भन्दै कारबाहीको माग गरी जिल्ला प्रशासन कार्यालय, पर्सामा उजुरी परेको छ । नगर प्रमुख श्रेष्ठले नक्कली बाबु बनेर एक युवतीलाई नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा मङ्गलबार उजुरी दर्ता भएको हो । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मह्महद साहबुदिनले नगर प्रमुख सिंहले किर्ते गरेको भनी कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

मेयर सिंहले किर्ते गरी रूबीना श्रेष्ठ भन्ने युवतीलाई आफ्नो छोरी बनाई जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको समाचार प्रकाशित भएपछि जाहेरी दरखास्त दर्ता भएको छ । जाहेरी दर्ता गराउन जिल्ला प्रशासन कार्यालय पुगेका क्षेत्रीय सभापतिसँग कुरा गर्दै घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

नगर प्रमुख सिंहका विरूद्ध दर्ता गरिएको जाहेरीमा झुटो विवरण पेस गरी जन् दर्ता गरी नागरिकता बनाएकाले नागरिकता र राहदानी खारेजका साथै नागरिकता लिने तथा नक्कली बाबु बनेर नागरिकता दिलाउने नगर प्रमुख सिंहलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।

नगर प्रमुख सिंह र श्रीमती अन्नपूर्ण मानन्धरका एक मात्र छोरा छन् । तर, मेयर सिंहले जिल्ला प्रशासन कार्यालय, पर्सामा विभिन्न प्रमाण पेस गरी रूबीना श्रेष्ठ आफ्नो भएको दाबी गरी नागरिकता दिलाएको खुलासा भएको छ । किर्ते जालसाजी गरी नागरिकता लिएकी युवती श्रेष्ठले पासपोर्टसमेत बनाएर विदेश पुगेकी छिन् ।

मेयर सिंहले वडादेखि जिल्ला प्रशासन कार्यालय पर्सासम्मका कर्मचारीलाई प्रभावमा पारेर नागरिकता दिलाएको आरोप मेयर सिंहमाथि छ । गएको स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरको मेयरका उम्मेदवार बनेका बेला पेस गरेका पारिवारिक विवरणमा समेत रूबीनालाई छोरी बनाएको कुरा लुकाएको नेपाली कांग्रेस क्षेत्रीय सभापति मह्महद साहबुदिनको आरोप छ ।

हेर्नुहाेस् उजुरी 

साहबुदिनका अनुसार घटनाको वास्तविकता लुकाउन धेरै प्रमाणहरू गायब गरेको देखिन्छ । सिंहले नागरिकता किर्तेको घटना लुकाउन वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्मका कर्मचारीहरूलाई प्रलोभनमा पारेको आरोपहरू लागेका छन् । वीरगञ्ज महानगरपालिकाको पञ्जीकरण महाशाखामा रहेको जन्म दर्ताको ढड्डालगायत कतिपय लिखत प्रमाणहरू गायब गराएको मह्महदको दाबी छ । नेपालको कानुनअनुसार नक्कली बाबु बनेर अपरिचित युवतीलाई नागरिकता दिलाइनु फौजदारी कसुर हो ।

जिल्ला प्रशासन कार्यालयको नागरिकताको ढड्डा अनुसार २०७५ साउन १३ गतेको क्रम सङ्ख्या ३ मा रुबीना श्रेष्ठले ३४-०१-७५-८८८४७ नम्बर उल्लेखित नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी छिन् । नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहको नागरिकता नम्बर ३४१६०३८८८१७ उल्लेख गरिएको छ । राजेशमान सिंहको छोरी बनाएकी रूबीना श्रेष्ठलाई प्रदान गरिएको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले हस्ताक्षर गरेका छन् ।

नागरिकता जारी भएको १० दिनपछि राहदानी विभागले ११०८८८१७ नम्बरको राहदानी जारी गरेको छ । पहिलो पटक नागरिकता जारी भएको १९ महिना पछि रूबीनाले प्रतिलिपि निकालेकी छिन् ।

दुई साताअघि मात्रै पर्साका प्रमुख जिल्ला अधिकारी बनेर पुगेका सहसचिव दिनेश सागर भुसालले पनि मेयर सिंह नक्कली बाबु बनेर एक किशोरीलाई नागरिकता दिएको विषय छानबिन गरी आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘एक किशोरीको बाबु बनेर नागरिकता दिएको जानकारीमा आएको छ, तर सरूवा भएको केही दिन मात्रै भएकाले थप अध्ययन गर्न पाएको छैन,’ भुसालले भने, ‘प्राप्त जाहेरी विभिन्न सूचनाको आधारमा अनुसन्धान अघि बढाइने छ ।’

किर्ते गरी नागरिकता लिने रूबीना श्रेष्ठ नगर प्रमुख राजेशमान सिंह श्रेष्ठकी प्रेमिकाको छोरी भएको वीरगञ्ज महानगरमा चर्चा छ । रूबीनाका बुवा सिन्धुली घर भई काठमाडौँमा ट्याक्सी चलाउँदै आएका एक व्यक्तिकी छोरी हुन् । ट्याक्सी चालकका श्रीमतीसँग नगर प्रमुख राजेशमान सिंहको आत्मीयता गाँसिँदै गएका कारण बाध्यतामा परेर नागरिकता दिलाउनु परेको छपकैयामा चर्चा छ ।

स्रोत : अनिल तिवारी, वीरगञ्ज/आईएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *