वीरगञ्जको एक सहकारीमा महानगरपालिको सिलबन्दी, जीबी राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

वीरगञ्जको आदर्शनगरमा रहेको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । करिब डेढ सयभन्दा बढी बचतकर्ताको लगानी लिएर फरार भएको सानो पाइलाबाट बचत रकम पाउनका लागि बचतकर्ताहरूले प्रदर्शन गरेका हुन ।

वीरगञ्जका बचतकर्ताहरूको १ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार रहेका सानोपाइला बचतका सञ्चालक जीबी (गितेन्द्रबाबु) राईसहित सञ्चालक र कर्मचारीहरूको पक्राउको माग गर्दै पीडित बचतकर्ताहरूले प्रदर्शन गरेका हुन ।

प्रचण्ड चिसोमा वीरगञ्जको टिबडेवाला धर्मशालामा भेला भएका पीडित बचतकर्ताहरूले विरोध जुलुस निकालेर वीरगञ्जमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘सानोपाइलाका सञ्चालक जीबीलाई पक्राउ गरी कारबाही गर्’, ‘बचतकर्ताको रकम फिर्ता गर्’, ‘बचतकर्ताको रकम टीभीमा लगानी गर्न पाइँदैन’ लगायतका नारासमेत लगाएका थिए ।

टिबडेवाला धर्मशाला परिसरबाट निस्किएको विरोध जुलुस नगर परिक्रमा गरी घण्टाघर चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभामा बोल्दै सहकारीपीडित संघर्ष समितिका संयोजक सुशील अग्रवालले बचतकर्ताको रकम फिर्ता गराउन मुख्य सञ्चालक जीबी राईसहितलाई अविलम्ब पक्राउ गर्न सरकारसँग माग गरे ।

उनले आगामी माघ २ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउने समेत बताए । आर्थिक मन्दीको समयमा जनताको अर्बौं रूपैयाँ रकम डुबे पनि जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले खासै सहयोग नगरेकोमा दुःखसमेत व्यक्त गरे ।

अर्कातर्फ लगभग ६ महिनादेखि बन्द रहेको सानोपाइलाको कार्यालयमा तालाबन्दी गरिएको छ । वीरगञ्जको आदर्शनगरस्थित उक्त सहकारीको शाखा कार्यालयमा बिहीवार वीरगञ्ज महानगरपालिकाले छ महिनादेखि बन्द रहेको सानोपाइलाको मूल ढोका शिल गरेको छ ।

महानगरपालिकाले उक्त सहकारीलाई पाँच महिना पहिला अर्थात् गत भदौ ४ मा नै समस्याग्रस्त सहकारी घोषणा गरेर त्यसका सञ्चालकहरूलाई पक्राउ गर्न नेपाल प्रहरीलगायतका सम्बन्धित निकायमा पत्राचार गरेको थियो ।

त्यस आधारमा अदालतले सानोपाइला सहकारीका संस्थापक एवं संरक्षक जीबी राई, वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, पूर्वसचिव तस्बिरन मियाँ, कोषाध्यक्ष कुमारलगायत १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

तर, अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । संघर्ष समितिका संयोजक अग्रवालका अनुसार उक्त सहकारीमा वीरगञ्जका करिब ८ सय साना तथा ठूला व्यापारिक घरानाको करिब १ सय ३५ करोड रूपैयाँ बचत छ ।

वीरगञ्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा सानोपाइलाका विरूद्ध एक सय १५ भन्दा बढी लिखित उजुरी परेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पनि ५२ वटा उजुरी परेको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

ती सबै उजुरीमा सहकारीले एक अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको वीरगञ्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखा प्रमुख सुनिल कर्णले जानकारी दिए । काठमाडौंको कालीमाटीमा केन्द्रीय कार्यालय भएको सानोपाइला सहकारीको वीरगञ्जस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गते पनि बचतकर्ता सदस्यहरूले प्रदर्शन गर्दै धर्ना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *