परिवारका तीन सदस्यमा अपांगता, उपचारमा सकियो लाखौं, जीवन धान्न जसाेतसाे कृषि

जन्मदा कुनै शारीरिक दुर्बलता नभएका बागलुङको ढोरपाटन नगरपालिका-१, बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो । खुट्टाको उपचार राम्रो नहुँदा उनी उभिनै सकेनन् ।

खुट्टा भाँचिदा उपचार नपाएका युवराज सधैँका लागि अपाङ्ग बन्न पुगे । ५० वर्षका उनी अहिले हात र खुट्टा दुवैको सहाराले सामान्य हिँडडुल मात्रै गर्न सक्छन् । युवराज मात्रै होइन उनकी श्रीमतीमा समेत शारीरिक आपङ्गता छ । ४० वर्षीया ढालकुमारी कँडेलको देब्रे हात छैन । भाँचिएको हात नजोडिँदा ढालकुमारीको देब्रे हात काट्नुपर्‍याे ।

श्रीमान्मा खुट्टाको अपाङ्गता र श्रीमतीमा हातको अपाङ्गता भएपछि आयआर्जन गर्न समस्या भयो । एक छोरी र दुई छोराको परिवार पाल्न अपाङ्गता नै बोझ बन्यो कँडेल दम्पतीलाई । उनीहरूलाई सामान्य कृषि कर्म गरेर परिवारको गुजारा चलाउन अपाङ्गताले भने छेक्न सकेन ।

‘श्रीमतीको हात छैन, म खुट्टाको अपाङ्गता, हातले टेकेर हिँड्नुपर्ने बाध्यता मलाई छ, अपाङ्गताले गाउँमा बाँच्न समस्या भयो, भिरपाखा कसरी हिँड्ने, सहज खोज्न सहर पस्ने निधो गर्‍याैं, तर कठिन थियो परिस्थिति,’ २० वर्षअघिका दिन सम्झँदै युवराजले भने, ‘एक लाख रूपैयाँमा आफ्नो भागको पुर्ख्यौली सम्पत्ति बेचेर बुर्तिवाङ बजार आएका हौँ, सामान्य किराना पसल गरेर छाप्रो बनाएका हौँ ।’

युवराजको जस्तै खुट्टा भाँचिने समस्या १३ वर्षीय कान्छो छोरा भरत कँडेलमा पनि देखिएको छ । भरत वैशाखीको सहारामा विद्यालय आउने-जाने गर्छन् । छोराको उपचारका क्रममा चिकित्सकबाट टुक्रे र झुरो हड्डीका कारण बुबा र छोरामा यो समस्या आएको सुनेको युवराजले बताए । उनका छोराको अपाङ्गताको बाल अस्पताल बनेपामा उपचार भएको थियो ।

युवराज परिवारका तीन सदस्य अपाङ्ग छन्, जेठी छोरी र छोरा भुवन मात्रै सबलाङ्ग छन् । छोरीको विवाह भइसकेको छ भने भुवन कक्षा १२ मा अध्ययनरत छन् । छाप्रोअघि तीन प्लास्टिक टनेल र केही खाली जग्गामा प्याजका बिरूवा बिक्रीका लागि तयारी अवस्थामा थिए । कँडेलले आफ्नो कृषि कर्म देखाउँदै भने, ‘परिवार पाल्न बाध्य भएर कृषिमा लागेँ, अधिकारीचौरमा पुर्खाले कृषि नै गरेका थिए, अहिले अधिकारीचौर गाउँ टनेल गाउँ भएको छ, प्याजका बिरूवासहित अन्य तरकारी बिक्री गरेर चार जनाको परिवार धानिँदै आएको छ ।’

कँडेल दम्पतीले साह्रोगाह्रो काम अन्य कामदार बोलाएर गर्दै आए पनि तरकारीको स्याहारसुसार भने आफैं गर्दै आएका छन् । वार्षिक १२ हजार रूपैयाँ भाडा तिर्ने गरी साढे दुई रोपनी जग्गामा लगाइएको प्याजका बिरूवा अहिले उत्पादन भएर बिक्री भइरहेका छन् । अन्य समयमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका कँडेल दम्पतीले कृषि पेसा रहरको नभएर जीवन निर्वाहका लागि गरेको बताए ।

‘उपचारको अभावले भाँचिएको हात नलागेपछि अपाङ्गता भयो, भिरपाखामा काम गर्न समस्या भएपछि सहर झरेर किराना पसल गरेका थियौँ, व्यापार राम्रै थियो, कान्छो छोरा जन्मेपछि पुन समस्या थपियो, श्रीमानको खुट्टा भाँचिने समस्या कान्छो छोरामा देखियो,’ ढालकुमारीले भनिन्, ‘बुर्तिवाङ बजारमा छाप्रो बनाउन सहयोग गरेको किराना पसल छोराको उपचारले छोड्न बाध्य भयौँ, तीन महिना अस्पताल बस्नुपर्ने समस्याले पसल छाडियो, अहिले थला परेको छोरो सबैको सहयोगमा उपचारपछि वैशाखी टेकेर हिँड्ने भएको छ ।’

कान्छो छोरा भरतको खुट्टाको शल्यक्रिया गर्न पाँच लाख रूपैयाँ लाग्ने भएपछि सहयोग सङ्कलन अभियानमार्फत चार लाख रूपैयाँ जुटेर शल्यक्रिया गरेको युवराजले बताए । छोराको खुट्टाको उपचार सहयोग सङ्कलन गरेर गरे पनि दैनिक घर खर्च चलाउन कृषि कार्य गर्दै आएको उनको भनाइ छ ।

किराना पसल छाडेपछि परिवार हुर्काउनकै लागि कृषिमा लागेको कँडेल दम्पतीको भनाइ छ । ‘किराना पसल राम्रै चलेको थियो, छोराको उपचारका लागि पटक-पटक अस्पताल धाउँदा समस्या भयो, पसल छाडियो,’ उनले भने, ‘छोराको उपचार गर्ने खर्च सामाजिक सञ्जाल र मिडियाले जुटाए, तर घर खर्च चलाउन कृषि कर्ममा छौँ, कृषिमा लागेकै आठ वर्ष भयो ।’

घर खर्च चलाउन समस्या भएपछि नर्सरी पेसामा अहिले कँडेल परिवार छ । उनले शारीरिक अपाङ्गताका बाबजुद व्यावसायिक नर्सरी तथा तरकारीखेती अँगाल्दै आएका छन् । अहिले हात र खुट्टा दुवैले टेकेर हिँड्ने अवस्थामा रहेका युवराजले श्रीमतीको सहारामा प्याजका बिरूवा उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

उत्पादन गर्न सके बजारको अभाव नभएको बताउँदै उनले धेरै उत्पादन गर्न शारीरिक अवस्थाले नसकेको बताए । उनले घर नजिकै थोरै जग्गा भए पनि टाढा गएर कृषि गर्न नसक्दा बिरूवा र तरकारीको माग हुँदा पुर्‍याउन नसकिएको बताए । कान्छो छोराको देब्रे खुट्टामा स्टिल राखिएको छ भने दाहिने खुट्टामा उपचार खर्चको अभावले नै स्टिल राख्न नसकिएको युवराजले बताए ।

कान्छो छोराको अहिलेसम्म छ पटक खुट्टा भाँचिएको उनले जानकारी दिए । अहिले उनी वैशाखीको सहाराले हिँडडुल गरे पनि विद्यालय जान-आउन भने दाइको सहारा लिने गरेका छन् । कान्छो छोराको उपचारमा मात्रै हालसम्म १३ लाख रूपैयाँभन्दा बढी रकम खर्च भइसकेको बुबा युवराजले बताए ।

बीउ पुँजीका लागि प्याजको बीउ खरिद गर्न ग्रामीण स्वास्थ्य सुधार परियोजना (भीवाईसी) संस्थाले १५ हजार रूपैयाँ सहयोग गरेको जनाउँदै कँडेलले १५ हजारको बीउबाट उत्पादन गरेका बिरूवा बिक्री गरेर ४० हजार रूपैयाँ कमाएको सुनाए । कँडेल दम्पतीले प्याजका बिरूवाबाहेक सिमी, बन्दा र काउली उत्पादन गर्दै आएका छन् । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *