कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा, सीमामा तयारी फितलो

कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा देखिएसँगै स्वास्थ्य मन्त्रालयले नेपालका स्वास्थ्य संस्थाहरूलाई सर्तकता अपनाउन निर्देशन जारी गरेको छ । नया भेरियन्ट ‘जेएन-१’ भन्दा बढी संक्रामक हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढ्दै गएको र यात्रुहरूसँगै यो संक्रमण नेपाल भित्रिने सम्भावना उत्तिकै रहेको छ । कोरोना भाइरस महामारीमा नेपाल-भारतको सीमा बेलहियामा देखिएको चुस्तता अहिले सुस्त भएको छ । सीमामा हुनुपर्ने परीक्षण अहिले निकै कम भएकामा स्वास्थ्यकर्मीहरूकै चिन्ता बढेको छ ।

बेलहिया हेल्थ डेस्कको तथ्यांकअनुसार मंसिर महिनामा ८ सय २५ जनाको नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये एक जनामा पनि संक्रमण देखिएको थिएन । तर, पुस महिनामा ९ सय ९६ जनामा गरिएको परीक्षणमा दुई जना भारतीय र एक जना नेपाली गरी तीन जनामा संक्रमण देखिएको थियो । तथ्यांकमा हेल्थ डेस्कमा परीक्षण गरेको उल्लेख भए पनि स्थलगत अवलोकनका क्रममा भने हेल्थ डेस्क सुनसान देखिने गरेको छ । स्थलमार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने यो नाकामा कोरोना परीक्षण भने पर्याप्त छैन ।

१२ जनाको दरबन्दी रहेको बेलहिया हेल्थ डेस्क अहिले गैरसरकारी संस्थाहरूका कर्मचारीको भरमा मात्र सञ्चालनमा रहेको छ । प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय मातहत रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीको कात्तिकसम्म मात्र करार सम्झौता रहेको थियोे । त्यसयता कर्मचारीहरूले तलब नपाउँदा डेस्कको काम प्रभावित भएको छ । तलब नपाएकै कारण चिकित्सकसहित तीन जनाले राजीनामा दिएका छन । भएकाहरू पनि बस्ने कि जाने भन्ने दोधारमा रहेका छन् ।

हाल पाँच जना अहेव, दुई जना ल्याब टेक्निसियन र तीन जना कार्यालय सहयोगी बेतलबी काम गरिरहेका छन् । सेभ द चिल्ड्रेन र किड्स नेपालका दुई/दुई जना कर्मचारी पनि यस डेस्कमा रहेको भेक्टर स्वास्थ्य कार्यालउ रूपन्देहीका कन्ट्रोलर केदारनाथ साहले बताए ।

उनले संक्रमण देखिएकालाई पनि व्यवस्थापन गर्ने कार्य फितलो रहेको बताए । यसले कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिने सम्भावना अझ बढेको उनी बताउँछन् ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपालमा पछिल्लो समय तीन जनामा संक्रमण देखिएपछि चेकजाँचमा कडाइ गरिएको दाबी गरे ।

प्रमुख जिल्ला अधिकारीले चेकजाँचको दाबी गरिरहँदा बेलहिया हेल्थ डेस्कका खाली कुर्सीहरूले भने यो दाबी सत्य नरहेको पुष्टि गर्छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर