विकास, समृद्धि र खुसी लिएर आए अयोध्याका राम

धर्मशास्त्रहरूमा उल्लेख भएअनुसार हामी हिन्दुहरूका आराध्य देव रामको जन्मभूमि अयोध्यालाई हरतरहका सुविधाले सम्पन्न एक विकसित, समृद्ध र खुसी सहरको रूपमा कल्पिन्छौं। भारतको उत्तर प्रदेश राज्यमा अवस्थित यो सहर अहिले यसैको प्रतीक बनेको छ। अयोध्या भौतिक पूर्वाधार विकाससहित धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले समृद्ध र सुसम्पन्न सहर बनेको छ।

नेपालसँग विशेष सम्बन्ध रहेको यो सहरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यकालमा सबै किसिमले विकसित गर्ने कोसिस गरेका छन्। स्मरणीय कुरा यो छ कि शताब्दीभन्दा लामो समयदेखिको जग्गा विवाद सर्वोच्च अदालतले टुंग्याएपछि अहिले यहाँ बहुप्रतीक्षित राम मन्दिर बनिरहेको छ, जसको यही माघ ८ गते विशेष पूजासहित प्राणप्रतिष्ठा हुँदैछ। मन्दिरको प्राणप्रतिष्ठा प्रधानमन्त्री मोदीमार्फत गरिँदैछ। राम मन्दिरले धार्मिक पर्यटकीय सहर अयोध्यालाई विकासको अर्को चरणमा लाने विश्वास गरिएको छ। यसले विश्वभरका हिन्दु अनुयायीहरूलाई आकर्षित गर्नेछ।

५ अगस्त, २०२० मा प्रधानमन्त्री मोदीले शिलान्यास गरेको यो मन्दिर ग्रेनाइट पत्थर प्रयोग गरी निर्माण भइरहेको छ। अनुमानित २० अर्ब भारतीय रूपैयाँ लागतमा निर्माणाधीन मन्दिरको खास विशेषता यो छ कि मन्दिर फलाम प्रयोग नगरी बनिरहेको छ।

एक हजार वर्ष आयु अनुमान गरिएको मन्दिर प्राचीन नागर शैलीमा बनिरहेको छ। ५७ हजार ४०० वर्गफिट क्षेत्रफलमा बनिरहेको मन्दिरको लम्बाइ ३८० फिट र चौडाइ २५० फिटको हुनेछ। शिखरको उचाइ १६१ फिट रहने मन्दिर निर्माणका लागि ३९२ वटा आधारस्तम्भ खडा गरिएको छ।

राम मन्दिर निर्माणले प्रधानमन्त्री मोदीको राजनीतिले नयाँ आयाम लिने विश्लेषण पनि भइरहेको छ। हिन्दुस्तानका नामले परिचित भारतमा राम मन्दिर बनाउने शताब्दीदेखिको प्रयास मोदीको प्रधानमन्त्रीत्व कालमा नै सफल हुनुले उनको राजनीतिमा थप योगदान पुग्ने विश्लेषण भइरहेको हो। मोदी लगातार तेस्रो कार्यकाल दोहोरिने प्रयासमा छन्। राम मन्दिर निर्माणको सार्थकताले हिन्दुहरूको बाहुल्यता रहेको भारतमा आगामी आमचुनावमा मोदीप्रतिको जनआकर्षण अझ बढ्ने अनुमान भइरहेको हो।

राम मन्दिरको प्राणप्रतिष्ठाका लागि भारत सरकारले भव्य तयारी गरेको छ। मन्दिरको प्राणप्रतिष्ठाअघि यसमा सहभागी हुन जाने हिन्दु अनुयायीहरूका लागि सरकारले आवश्यक सबै सुविधाको बन्दोबस्त गरेको छ।

राम मन्दिरको प्राणप्रतिष्ठाअघि अयोध्याको विकासमा सरकारले विशेष गति दिएको छ। यहाँ अत्याधुनिक रेल र रेलवे स्टेसन, सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको छ। पुनर्विकसित अयोध्याधाम रेलवे स्टेसन, अयोध्या अन्तर्राष्ट्रिय विमानस्थल, अमृत भारत रेल अयोध्याको विकासका दृष्टान्त हुन्।

स्मरण रहोस्, प्रधानमन्त्री मोदीमार्फत मन्दिरको प्राणप्रतिष्ठा नेपाली पुजारीले गराउँदैछन्। राम मन्दिरको शिलान्यासका बेला प्रधानमन्त्री मोदीलाई वैदिक मन्त्रोच्चारणसहित शिलान्यास गराउने नेपाली मूलका पुजारी आचार्य दुर्गाप्रसाद गौतमले मन्दिरको प्राणप्रतिष्ठा गराउने भएका हुन्।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले पुजारी गौतमलाई मन्दिरको प्राणप्रतिष्ठाका लागि केहीअघि निमन्त्रणा पठाएका थिए।

राम मन्दिरको प्राणप्रतिष्ठा समारोहमा सहभागी हुन नेपालका विभिन्न सम्मानित सन्त तथा धार्मिक संगठनका प्रमुखहरू अयोध्या पुग्नेछन्।

राम जन्मभूमि अयोध्यासँग नेपालको विशेष सम्बन्ध छ। रामपत्नी देवी सीताको माइती धनुषाको जनकपुरस्थित जानकी मन्दिरबाट राम मन्दिरको प्राणप्रतिष्ठाका लागि उपहार पठाइसकिएको छ।

जनकपुरधाम-अयोध्याधाम यात्रासहित विभिन्न प्रकारका आभूषण, भाँडा, कपडाका साथै मिठाइलगायत उपहार पठाइएको हो।

मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेष रूपमा कोसेली पठाउने गरिन्छ। सोही परम्पराअनुसार राममन्दिर उद्घाटनका अवसरमा माता सीताको माइतीपक्ष जनकपुरधामबाट उपहार पठाइएको हो।

यस कार्यले नेपाल-भारतबीच त्रेतायुगदेखि चलिआएको वैवाहिक सांस्कृतिक सम्बन्धको महत्त्व दर्शाउनुका साथै त्यसलाई थप बलियो बनाउन भूमिका खेल्ने विश्वास गरिएको छ।

यसअघि निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको थियो। विश्व हिन्दु परिषद् नेपालको नेतृत्वमा नेपालका विभिन्न नदीहरूबाट संकलन गरिएको जल अयोध्या पठाइएको थियो।

अयोध्यामा मन्दिर निर्माण सुरू भएपछि गत वर्ष नेपालको कालीगण्डकी नदी किनारबाट दुईवटा शिलासमेत अयोध्या पठाइएको थियो।

जसले देखाउँछ अयोध्याको विकास
अयोध्या एयरपोर्ट : अयोध्यामा १४५० करोड भारतीय रूपैयाँको लगानीमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको छ। विमानस्थल निर्माणमा भएको यो लगानी प्रारम्भिक हो। यसलाई अझ सुविधासम्पन्न बनाउने सरकारको योजना छ।

भगवान् रामको जीवनबाट प्रेरित भएर निर्माणाधीन राम मन्दिरकै नागर शैलीमा विमानस्थल बनाइएको हो। यसको प्रधानमन्त्री मोदीले गत ३० डिसेम्बरमा उद्घाटन गरेका थिए।

सो विमानस्थल दुई वर्षको अवधिमा ८००० वर्गमिटर क्षेत्रफलमा बनेको हो। विमानस्थलको डिजाइन वास्तुविद् विपुल वार्ष्णेयले गरेका हुन्। विमानस्थलले हरेक वर्ष १० लाख यात्रुलाई सेवा दिने सरकारी दाबी छ।

विमानस्थलको नाम सुरूमा श्रीराम अन्तर्राष्ट्रिय विमानस्थल राखिए पनि अहिले बदलेर ‘महर्षि वाल्मिकी अन्तर्राष्ट्रिय विमानस्थल अयोध्याधाम’ राखिएको छ।

विमानस्थलमा जताततै भगवान रामलाई प्रतिबिम्बित गर्ने प्रयास गरिएको छ र धनुष र वाणको ठूलो भित्तेचित्र जडान गरिएको छ। विमानस्थलको ल्यान्डस्केपिङमा पञ्चतत्त्वलाई ध्यानमा राखेर रङको प्रयोग गरिएको छ। साथै फ्लोरिङमा पनि पृथ्वी, आकाश, वायु, जल र अग्निका पाँच तत्त्वबाट प्रेरित भएर रङको प्रयोग गरिएको छ।

अयोध्या एयरपोर्टको डिजाइन।

पुनर्विकसित अयोध्याधाम रेलवे स्टेसन : अयोध्याको विकास देखाउने अर्को महत्त्वपूर्ण परियोजना पुनर्विकसित अयोध्याधाम रेलवे स्टेसन हो जसको नाम ‘अयोध्याधाम जंक्सन रेलवे स्टेसन’ नामकरण गरिएको छ। २४० करोड भारतीय रूपैयाँभन्दा बढीको लागतमा यो रेलवे स्टेसन बनाइएको हो।

पुनर्विकसित अयोध्याधाम रेलवे स्टेसनको डिजाइन।

तीन तले आधुनिक रेलवे स्टेसन भवनमा लिफ्ट, एस्केलेटर, फुड प्लाजा, पूजाका लागि पसल, क्लोक कोठा, बाल हेरचाह कोठा, प्रतीक्षालय हल जस्ता आधुनिक सुविधाहरू छन्।

अमृत भारत रेल : अयोध्यामा प्रधानमन्त्री मोदीले सुपरफास्ट यात्रुवाहक रेल अमृत भारत एक्सप्रेसको पनि उद्घाटन गरेका छन्। अमृत भारत रेल ‘पुस पुल’ ट्रेन हो। यस रेलमा यात्रुहरूका लागि सुन्दर र आकर्षक डिजाइन गरिएका सिटहरू, राम्रो लगेज र्‍याक, उपयुक्त मोबाइल होल्डरसहितको मोबाइल चार्जिङ प्वाइन्ट, एलईडी बत्ती, सीसीटीभी, सार्वजनिक सूचना प्रणालीलगायतका सुविधाहरू छन्।

अयोध्यामा सञ्चालन हुने रेल दरभंगा-अयोध्या-आनन्द विहार टर्मिनल अमृत भारत एक्सप्रेस हो। यो रेल १३० किलोमिटर प्रतिघण्टाको गतिमा चल्न सक्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *