भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकैलाई कारबाही हुनैपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा दलीय आधारमा बोल्दै उनले सुशासनको प्रत्याभूति नागरिकले बालेर मात्रै महसुस नगर्ने भन्दै यसका लागि सरकारको काम गर्नुपर्नेमा जोड दिए।

महामन्त्री थापाले भने, ‘कुनै घटना मात्रैका आधारमा संसद्ले पनि आफ्ना मत बनाउनुहुँदैन। सार्वजनिक जग्गा हडप्ने, कीर्ते नागरिकता बनाउने, सहकारीमा जनताले जम्मा गरेको रकम ठगी गर्ने काण्डमा संलग्न जोसुकै व्यक्ति, जुनसुकै दलको वा जतिसुकै आर्थिकरुपमा सम्पन्न होस्, त्यस्ता व्यक्तिलाई कानुनबमोजिम कारबाही हुनुपर्छ।’

उनले संविधान कार्यान्वयनसँग जोडिएका कानुन बनाउन, अर्थतन्त्र चलायमान बनाउन, सङ्घीयता कार्यान्वयन गर्नेलगायत विषयमा सरकारले पनि प्रयत्न अघि बढाएको बताए। यस विषयमा संसद्ले पनि नयाँ ढङ्गले प्रभावकारी रुपमा बैठक सञ्चालन गर्ने योजना अघि बढाएको सन्दर्भमा सबै जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

अब आरोप प्रत्यारोपभन्दा सकारात्मक रुपमा काम गर्न सबैलाई आग्रह गर्दै महामन्त्री थापाले आफ्नो पार्टीले पनि यस पटक थप जिम्मेवारीपूर्वक प्रस्तुत हुने सङ्कल्प गरेको अवगत गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *