भारतीय दूतावासद्वारा गायिका मेनुका पौडेल सम्मानित

काठमाडौंस्थित भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गायिका मेनुका पौडेललाई सम्मानित गरेको छ ।

माइती नेपालसँगको सहकार्यमा दूतावासले बुधबार आयोजना गरेको कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले पौडेलसँगै ८१ वर्षीया रत्नकुमारी सुनुवारलाई पनि सम्मानित गरेका हुन् ।

पौडेलले आफ्नो गायन प्रतिभाको माध्यमबाट नेपाल तथा भारतमा र पछिल्लो समय इन्डियन आइडलमा प्रशंसा बटुल्न सफल भएकी थिइन् । सुनुवारले ८० वर्षको उमेरमा गत वर्ष कक्षा १२ उत्र्तीण गरेपछि अध्ययनमा उमेरले कुनै बाधा नपार्ने रहेछ भन्ने देखाउँदै चर्चा कमाएकी थिइन् । कार्यक्रममा नेपालकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि सहभागी थिइन् ।

कार्यक्रममा नियोग उप–प्रमुख श्रीवास्तवले माइती नेपालले नेपाली महिलाको हित र समृद्घिका लागि गरेको अथक प्रयासको प्रशंसा गरे । श्रीवास्तवले सन् २०१७ मा भारत सरकारले कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गर्दै उनले यस क्षेत्रमा पुर्याएको प्रयासलाई भारत सरकारले पनि कदर गरेको बताए ।

शाक्यले भारत र नेपालबीच रहेको विशिष्ट सम्बन्धको महत्व उल्लेख गर्दै नेपालमा महिला सशक्तीकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको बताइन् । कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत कार्यक्रमबारे जानकारी गराइन् । भारतीय दूतावासको निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत व्यक्त गरिन् ।

सो अवसरमा भारतीय राजदूतावासले माइती नेपालका विद्यार्थीहरुलाई उपहार स्वरुप पुस्तक प्रदान गरेको थियो । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा काठमाडौंका महिला वाद्यवादकहरुले सांगीतिक प्रस्तुति र माइती नेपालका छात्राहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । पौडेलले पनि गीत प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर