एक घण्टामा श्रम स्वीकृति दिन असम्भव : वैदेशिक रोजगार र श्रम कार्यालय

श्रम स्वीकृति दिने जिम्मा पाएको वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय तथा श्रम कार्यालयहरूले हालको सफ्टवेयरबाट एक घण्टामा श्रम स्वीकृति दिन नसक्ने जनाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने तयारी गरेको बताएका थिए ।

विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय काठमाडौँसहित श्रम तथा रोजगार कार्यालय पोखरा, श्रम तथा रोजगार कार्यालय बुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ ।

विभागका अनुसार पछिल्लो समयमा औसतमा एक हजार पाँच सय जनाले श्रम स्वीकृति लिने गरेकोमा दैनिक आठ सयभन्दा बढीले वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट लिने गरेका छन् । हाल वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) नामक सफ्टवेयरमार्फत श्रम स्वीकृति लिने व्यवस्था हुँदै आएको छ ।

वैदेशिक रोजगार कार्यालय काठमाडौँका अनुसार श्रमका लागि टोकन लिएकालाई तुरुन्तै दिने चाहना हुँदा पनि सर्भरमा बेला बेलामा आइरहने समस्याका कारण तीन दिनसम्म लाग्ने गरेको छ । सो कार्यालयका निर्देशक एवं सूचना अधिकारी कल्पना मास्केले बेला बेलामा ‘सर्भर डाउन’ हुने समस्याका कारण पछिल्लो समयमा २४ घण्टाभित्र श्रम स्वीकृति दिन सक्ने अवस्था नरहेको बताइन् । उनले भने, ‘कर्मचारी त एक घण्टाभित्रै श्रम दिने गरी तयारी अवस्थामा छौँ तर सर्भरले काम गर्दैन, कर्मचारीले के गर्नु ? स्टिमले काम गर्दैन त’ ।

यही मङ्गलबारदेखि बिहान ८ देखि साँझ ७ बजेसम्म तीन सिफ्टमा काम गरिरहेका छौँ तर पनि एक हजारभन्दा बढी श्रम स्वीकृति तीन दिनदेखि थुप्रिँदै आएको निर्देशक मास्केले जानकारी दिइन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर