सुन तस्करी प्रकरण: प्रहरीमाथि थप छानबिन गर्न गृहद्वारा अर्को समिति गठन

सुन तस्करी प्रकरणमा कारबाही सिफारिसमा परेका प्रहरी तथा कर्मचारीमाथि थप छानबिन तथा कारबाही गर्न गृह मन्त्रालयले अर्को समिति बनाएको छ ।

मन्त्रालयको कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ । समिति सदस्यमा नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीमप्रसाद ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन् ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० को छानबिन प्रतिवेदनमा अनुसन्धानमा लापरबाहीको आरोपमा प्रहरीका केही अधिकारीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ । त्यसैलाई कार्यान्वयन गर्न समिति गठन गरिएको गृहको भनाइ छ । आयोगले यही चैत १ मा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

कारबाही सिफारिसमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाल छन् । यस्तै, अनुसन्धानमा खटिएका सबै प्रहरीहरुको सरुवा गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

गत साउन २ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन र विद्युतीय चुरोट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा आयोगले छानबिन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *