हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त करले पर्यटन क्षेत्र निरुत्साहितः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष ढकालले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालमा यात्रा गर्ने विदेशीहरु कम भएकाले पर्यटन व्यवसायमा नकारात्मक असर परेको दाबी गरे ।

सरकारले हवाई टिकटमा गत वर्षको बजेटमार्फत व्यवस्था गरेको १३ प्रतिशत अतिरिक्त कर करेक्शन गर्न आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष ढकालले सरकारले रोयल्टीमा ५ प्रतिशत शुल्क लगाउने नीतिले नेपालमा गुणस्तरीय अन्तर्राष्ट्रिय होटलमा लगानी आउन र सञ्चालनमा समेत कठिन भएको बताए ।

उनले भारतीय र गैरआवासीय भारतीय नागरिकहरुको विवाहको इभेन्ट भारत भन्दा बाहिर गर्ने प्रचलन रहेको भन्दै उक्त इभेन्ट नेपालमा गर्नसक्ने गरी नीतिगत रुपमा व्यवस्था गर्न आवश्यक रहेको बताए । यस्ता विवाहका इभेन्ट नेपालमा ल्याउनसके नेपालले धेरै लाभ लिनसक्ने अवस्था रहेको उनको भनाइ छ ।

‘पाँच तारे होटलका ५ प्रतिशत सर्भिस चार्जको कारणले गुणस्तरीय विदेशी ब्राण्ड नेपालमा आउनको लागि असजिलो भइरहेको छ । गत वर्षको बजेटले हवाई टिकट र लक्जरी भ्याट थप गरेको छ । त्यसले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको छ । उक्त भ्याटमा करेक्शन हुनुपर्छ भन्ने हाम्रो माग छ । सीमामा पर्यटनसँग सम्बन्धित सबै कुराहरु सहज बनाउन सकियो भने धेरै राम्रो हुन्छ । पर्यटन बोर्डलाई निजी क्षेत्रको समेत सहभागिता गराएर अझ प्रभावकारी बनाउन आवश्यक छ,’ उनले भने ।

अध्यक्ष ढकालले सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै विमानस्थल सञ्चालनमा ल्याउन सक्दा मात्रै नेपालमा पर्यटनको धेरै सम्भावना देखिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर