धरानमा सशस्त्रको गुल्म स्थापना गर्न गृहमन्त्रीसँग धरान प्रमुख साम्पाङको माग

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच आज गृह मन्त्रालयमा भेटवार्ता भएको छ ।

सो अवसरमा प्रमुख साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरे । कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख साम्पाङको गुनासो थियो ।

जवाफमा लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा गम्भीर हुने गृहमन्त्री लामिछानेले बताए । माग सम्बोधनको प्रक्रिया सुरु गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई प्रमुख साम्पाङको सुझाव थियो । मन्त्री लामिछानेले प्रहरीलाई ‘आम नागरिकलाई भर : गलत गर्नेलाई डर’ हुने संगठन बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री र प्रमुख साम्पाङबीच लागूऔषध दुव्र्यसनी नियन्त्रणबारे पनि छलफल भएको छ । नशाका लागि विभिन्न थरीका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर, त्यसविरुद्ध कारबाही चलाउन कानून नरहेकोबारे प्रमुख साम्पाङले गृहमन्त्रीलाई ध्यानाकर्षण गराए ।

यसलाई नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्यसहित विशेष अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्रीको भनाइ थियो । प्रमुख साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने गृहमन्त्रीले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *