बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका

बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ ।

नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई  अन्नबाली लगाउन सघाएको छ । वडा नं १४ आर्थर डाँडा खर्कमा रहेको दुई सय रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचीकृत बेरोजगारलाई कोदो र मकैखेतीका माध्यमबाट रोजगारी प्रदान गरेको हो ।

नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार राज्यले प्रदान गरेको सशर्त अनुदानलाई स्थानीय तहले कार्यक्रमको उद्देश्यअनुरूप बेरोजगारलाई रोजगार प्रदान गर्दै बाँझो जग्गाको सदुपयोग थालेको छ भने  उत्पादित कृषि उपजको बिक्री गरेर पालिकाको आयमा टेवा पुगेको छ । पालिकाका अन्य वडामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुचीकृत भएका बेरोजगारलाई बाँझो जमिन सदुपयोगमा लगाइने नगरपालिकाले जनाएको छ ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पालिकाकाको नीति तथा कार्यक्रमअनुसार यो कार्यको थालनी भएको बताए। उनले गाउँमा खेतीपाती गर्ने जनशक्तिको अभाव रहेको अवस्थामा यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाले सात सय ५३ वटै पालिकामा रोजगार सिर्जना शीर्षकमा प्रत्येक आर्थिक वर्षमा सशर्त अनुदान प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *