सरकारले तोकेका कथित निषेधित क्षेत्रहरू स्वीकार्य छैन, तोडेर प्रदर्शन गर्छौं : अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत्र २७ गतेको पार्टीको विरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरू तोडेर अघि बढ्ने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उहाँले सरकारले कथित रूपमा तोकेका निषेधित क्षेत्रहरू राप्रपालाई मान्य नहुने बताएका हुन् ।

उनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे ।

संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको उल्लेख गर्दै अध्यक्ष लिङदेनले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरूलाई साँघुरो बनाउने प्रयत्नहरू राप्रपालाई स्वीकार्य नरहेको बताए ।
प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने उनले स्पष्ट पारे । कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने चेतावनी दिए ।

शनिवारको प्रदर्शनमा राजनीतिक दलहरूको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरूमाथि लात्ती प्रहार गरेको भन्दै भर्त्सना गरे । शनिवार भद्रकाली मन्दिर परिसर क्षेत्रमा नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुहरूमाथि लात्ती प्रहार गरेको थियो । सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ ।

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समान विचार राख्ने पार्टी र व्यक्तिहरूलाई एकताबद्ध भई आन्दोलनमा होमिन आग्रह गरे । उनले देश बचाउने र बनाउने मुद्दामा सबै एक हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *