रासायनिक मल कारखाना स्थापना गर्दै आयल निगम

नेपालमा रासायनिक मल शतप्रतिशत रूपमा विदेशबाट आयात हुन्छ। यस्तो अवस्थामा नेपाल आयल निगमले स्वदेशमै रासायनिक मल कारखाना सञ्चालनको तयारी गरेको छ। लामो समयदेखि मल कारखाना स्थापना गर्ने विषयमा चर्चा हुँदै आए पनि मूर्तरूप पाउन नसकिरहेको अवस्थामा आयल निगमले अग्रसरता देखाएको हो।

सरकारले रासायनिक मलमा वार्षिक करिब ३२ अर्ब रुपैयाँ बढी अनुदान दिँदै आएको छ। नेपालमा करिब ४० अर्ब रूपैयाँभन्दा बढीको मल आयात हुन्छ।

किसानले समयमा मल नपाइरहेको अवस्थामा स्वदेशमै उत्पादन गर्न सकिने अवसर रहेकाले रासायनिक मल कारखाना स्थापनाको तयारीमा लागेको निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले बताए। ‘रासायनिक मल कारखानालाई ड्रिम परियोजनाका रूपमा अघि बढाउने गृहकार्य गरेका छौं,’ उनले भने, ‘पिपिपी मोडलमा सञ्चालन गर्ने योजना हो।’

गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा करिब साढे ४० अर्ब रूपैयाँको चार लाख २६ हजार सात मेट्रिक टन रासायनिक मल आयात भएको थियो। करिब आधा खर्ब रकम मल खरिदमा बिदेसिएकाले स्वदेशमै उद्योग स्थापना गर्न सके मुलुकको व्यापार घाटा न्यूनीकरणमा टेवा पुग्ने निगमको ठहर छ। रासायनिक मल कारखानाका लागि एक सय अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने भएकाले विदेशी लगानीकर्तालाई समेत भित्राउने निगमको योजना छ। मल कारखानामा लगानी गर्न भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी) सकारात्मक रहेको निगमले जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *