४६ वर्ष अघि ल्याइएको औषधी ऐन फेरिँदै, नयाँ ऐनको मस्यौदा स्वास्थ्य मन्त्रालयमा

नेपालमा ४६ वर्षपछि औषधी ऐन फेरिने भएको छ । औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ लाई प्रतिस्थापन गर्दै नयाँ औषधी ऐन २०८० ल्याउन लागेको जनाएको छ ।

विभागले औषधी ऐनको मस्यौदा तयारी गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाएको छ । हाल नेपालमा २०३५ सालमा बनाइएको औषधी ऐन लागु छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले ४६ वर्षपछि नेपालमा औषधी ऐन परिवर्तन गर्न लागिएको जानकारी दिए । उनले नेपालको औषधी उद्योगलाई प्रवर्धन गर्ने नयाँ औषधी ऐन आउन लागेको जानकारी दिए । ऐनको मस्यौदा तयार गर्दा सबै सरोकारवालासँग राय लिएको भन्दै महानिर्देशक ढकालले सरोकारवाला निकायले दिएका कतिपय सुझावलाई ऐनमा समेटिएको बताए ।

यता औषधी व्यवस्था विभागले ल्याउन लागेको औषधी ऐनप्रति सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन् । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले नयाँ बन्न लागेको औषधी ऐनमा धेरै त्रुटि रहेको बताए ।

उनले नयाँ बन्ने औषधी ऐनमा बिरामीलाई औषधी सिफारिस गर्ने चिकित्सकलाई जेल हाल्नेसम्मको प्रावधान रहेकाले उक्त प्रावधान हटाउनुपर्ने माग राखे । उक्त ऐनमा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्सन)ले औषधी सेवन गरी बिरामीको निधन भएमा चिकित्सकलाई पक्राउ गरिनेसम्मको प्रावधान रहेको छ । उनले औषधी ऐनले औषधीमा हुने गडबढीको दोष उत्पादक र बिक्री गर्ने व्यवसायीलाई नभई औषधी लेख्ने चिकित्सकलाई हुने भएकाले त्यसलाई सच्याउनुपर्ने तर्क गरे। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *