सरकारको अल्टिमेट गोल सुखी नेपाली र समृद्ध नेपाल नै होः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले सरकारको अल्टिमेट गोल भनेको सुखी नेपाली र समृद्ध नेपाल नै रहेकाले कोही पनि यसमा दुविधामा रहनु नहुने बताए ।

सुखी नेपाली र समृद्ध नेपालमा पुग्नका लागि सुशासन र सामाजिक न्याय अनिवार्य शर्त रहेको दाहालको भनाइ छ । उनले अहिलेको देशको आवश्यकता उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयासहरु केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु रहेको बताए ।

‘नेपालको सम्बन्धमा कृषिलाई उच्च प्राथमिकतामा नराखिकन कृषि उत्पादन वृद्धि र कृषि रोजगारी श्रृष्टि गर्ने कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने यो कुरालाई उच्च प्राथमिकता नदिइकन उत्पादन र उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनैपनि परिणाम निस्किँदैन,’ उनले भने ।

प्रधानमन्त्री दाहालले नेपाल लगानीको सम्भावना भएको देशमात्रै नभइ भरपर्दो गन्तव्य भएको उल्लेख गरे । उनले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिमा रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको बताए ।

युवा जनशक्तिको सीप, सामथ्र्य र क्षमतालाई विकासप्रतिको हुटुहटीमा उपयोग गर्दै उपलब्ध प्राकृतिक श्रोत एवं साधनको कुशल एवं प्रभावकारी परिचालन गर्नसके देशको समृद्धि छोटो अवधिमा नै सम्भव रहेको दाहालको भनाइ थियो ।

नेपालको फर्टिलिटी रेट (बच्चा जन्मिने दर) २ भन्दा तल झरिसकेको भन्दै केही वर्षपछि नेपालमा धेरै कम जनसंख्या हुने स्थिति रहेको उनले जिकिर गरे । उनले विकासमा युवा जनशक्तिलाई परिचालन गरी युवाहरुलक्षित नीति तथा कार्यक्रम बनाउन आवश्यक रहेको बताए । प्रधानमन्त्री दाहालले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको बिस्तार तथा उपयोगमा विशेष जोड दिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर