तीनै तहको निर्वाचनमा समानुपातिक र समावेशी प्रतिनिधित्व अपर्याप्त : दिनेश थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालमा सम्पन्न तीनै तहको निर्वाचनमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व पर्याप्त नभएको बताएका छन् ।

आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा सोमबार आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश सभामा ३६.३६ प्रतिशत र संघीय संसदमा ३३.८३ प्रतिशत महिला प्रतिनिधित्व कायम भएको जानकारी दिए । यद्यपि सो प्रतिनिधित्व समानुपातिक र समावेशी प्रतिनिधित्वको दृष्टिले पर्याप्त नभएको उनले बताए ।

उनले आगामी दिनमा समानुपातिक तथा समावेशी प्रतिनिधित्वलाई सहज, विशिष्ट, उपयुक्त र पूर्वानुमान बनाउनुपर्नेमा जोड दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई निश्चित सीमामा बाँधिएको बताए । त्यस्तै राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसारको खर्चलाई पनि नियन्त्रण र नियमन गर्ने प्रयास गरिएको उल्लेख गरे । उनले निर्वाचन आयोगले निर्वाचनका क्रममा गरेका सबै प्रयासहरु राजनीतिक सुशासन र निर्वाचनको निष्ठा कायम गर्न चालिएको कदम भएको स्पष्ट पारे ।

उनले आयोगले प्रतिनिधि सभाको पहिलो अधिवेशनमै निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक पेस गर्ने तयारी गरिरहेको जानकारी दिए । सो विधेयक निर्वाचन व्यवस्थापन सुधारको दिशामा कोसेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *