वनकै कारण विकासका काम रोकिँदैनन् : मन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन् । चितवनको भरतपुर महानगरपालिकाले आइतबार आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताए ।

महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकासप्रेमी भएकाले वनकै कारण विकासका काम नरोकिने बताए ।

उनले भने, “समस्या परेका ठाउँमा हामी स्थलगत निरीक्षण गरेर समाधानको उपाय खोज्ने अभियानमा जुटेका छौँ ।” विकल्प खोजेर विकासका कामलाई अघि बढाइने उनको भनाइ थियो ।

भरतपुर–माडी हुँदै ठोरीसम्म जाने हुलाकी सडक लाइफलाइन भएकाले यसको कामलाई रोक्न नहुने उनले बताए । आफू पर्साको जनप्रतिनिधि भएकाले यो सडक निर्माणको दायित्व आफ्नो काँधमा रहेको उनको भनाइ छ ।

उनले भने, “हुलाकी सडकमा परेका समस्या समाधानका लागि वन मन्त्रालय आवश्यक निर्णय लिने अन्तिम तयारीमा छ ।”

कागजमा हेरेर मात्रै नहुने भन्दै उनले स्थलगत निरीक्षणपछि प्रक्रिया पु¥याएर निर्णय गर्न सकिने बताए । भरतपुर महानगरभित्र लालपूर्जा वितरणसहित देखिएका विभिन्न समस्या समाधान गर्न टोली खटाएर निर्णय गर्ने पनि उनले बताए ।

सोही अवसरमा वन सचिव डा प्रेमनारायण कँडेलले वनका कारण देखिएका समस्या मन्त्रीस्तर, मन्त्री परिषद् र संसद्मा नै लानुपर्ने भए पनि आवश्यक प्रक्रिया पूरा गरेर लैजान मन्त्रालय तयार रहेको बताए ।

मन्त्री यादवसहितको टोलीले शनिबार माडीमा वनका कारण देखिएका समस्याका बारेमा स्थलगत निरीक्षण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *