भक्तपुरको सल्लाघारीमा रुख ढलेर गुडिरहेको बस र स्कुटी थिच्दा तीन जनाको मृत्यु, १२ घाइते

भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीमा रुख ढलेर गुडिरहेको बस र स्कुटीलाई थिच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटीलाई सल्लाको रुख ढलेर थिचेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रजिअ शर्माले बताइन् ।

मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको छ भने दुई जनाको सनाखत हुन सकेको छैन । मृतक नितेश खर्वुजाको सनाखत भएको हो ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने बताइएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले ढलेका रुख र थिचिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर