सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त

आफ्नो कार्यकालमा प्रक्रिया, पद्धति र प्रणालीबाट सेना सञ्चालन गर्ने बारम्बार दोहोराउने अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको ‘फण्डा’ उनी अवकाश हुनुअघि नै भण्डाफोर भयो ।

२४ भदौ, २०७६ मा एक वर्ष कार्यकाल पूरा गर्दा थापाले दुई नयाँ थालनीको उद्घोष गरेका थिए– सम्पत्ति विवरण सार्वजनिक र सेनामा हुने आर्थिक अनियमितताबारे छानबिन गर्न ‘ओभरसाइट सेल’ गठन गर्ने ।उक्त घोषणालाई सुरुमा जङ्गी अड्डाभित्रैबाट अविश्वासको नजरले हेरियो । तर, प्रधानसेनापति थापाले घोषणाबमोजिम सम्पत्ति विवरण सार्वजनिक गर्ने सुरुआत आफैंबाट गरे । उनले सम्पत्ति विवरण सेनाको वेबसाइटमा राख्दै अधिकृतहरूलाई पनि सार्वजनिक गर्न आह्वान गरे ।

ओभरसाइट सेल गठन गर्ने निर्णय पनि सैनिक इतिहासकै ठूलो ‘सरप्राइज’ हो । सेनाभित्रका नयाँ–पुराना आर्थिक अनियमितताका घटनाबारे छानबिन गर्ने गरी निरीक्षणाधिकृत उपरथी अशोक सिग्देलको नेतृत्वमा २०७६ भदौमा विज्ञसहितको सेल गठन गरिएको थियो  ।

सेलले पुराना घटनाबारे पनि छानबिन गर्ने क्षेत्राधिकार पाएको थियो । यही व्यवस्थाले अवकाशप्राप्त सेनापति र अधिकारीहरू पनि छानबिन तथा कारबाहीको दायरामा आउने विश्वास धेरैले गरेका थिए ।

तर, यो सेल भनेको अवकाशप्राप्त प्रधानसेनापति थापाको अर्को ‘स्टन्ट’ भएको खुलासा केही समयमै भयो । ‘रिभर्स करप्सन’ (भ्रष्टाचार उल्टाउने) भनिए पनि यो अप्र (अवकाशप्राप्त प्रधानसेनापति) थापाको ‘रिभेन्ज मेकानिजम’ (बदला लिने संयन्त्र) रहेको केही घटनाक्रमहरुले पुष्टि गरे ।

सेलले त्यतिबेला सैनिक मुख्यालय, मातहतका महानिर्देशनालय, देशभरिका आठवटै पृतना, २२ वटा बाहिनी तथा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, सैनिक आवासीय महाविद्यालय भक्तपुर, वीरेन्द्र सैनिक अस्पताल लगायतको छानबिन गरेको थियो ।

यो छानबिनमा सेनाभित्रको यौनकाण्डदेखि  भ्रष्टाचारसम्मका घटनाको प्रमाणसहित सेलले प्रधानसेनापतिको सचिवालयलाई सिफारिश गरेको थियो । जसमा अस्पतालमा सबैभन्दा बढी ६ करोड रुपैयाँ तत्कालीन सहायक रथी  प्रेम शाही (हाल उपरथी) र रघु भण्डारीले २ करोड रुपैयाँ भ्रष्टाचार गरेको देखिएको थियो ।

तर, अप्र थापाले यी दुई आफूनिकट भएकाले अनुसन्धानमा सघाउने अर्का सहायक रथी प्रयोगशमशेर जबरालाई कारबाही गरे । उनीविरुद्धको कारबाहीसमेत सैनिक नियमविपरीत थियो । उनलाई नियममै नभए पनि सरकारी सेवाबाट अयोग्य ठहर गर्दै बर्खास्त गरे । यद्यपि उनको मुद्दा सैनिक अदालतमै पुनरावलोकनको अवस्थामा छ ।

यस्तै सैनिक मुख्यालय हाताभित्र सिद्धार्थ समूहको रेष्टुरेन्ट राख्न उपरथी शाही र अनन्त कार्कीको मुख्य भूमिका थियो । यो रेष्टुरेन्टमा डीजीएमओ रहेका बेला उपरथी कार्कीले प्रधानसेनापति कोष र कल्याणकारीको करिब ३ करोड रुपैयाँ खर्च गरे । रेष्टुरेन्टमा आगलागी भएपछि सैलुन र अन्य ‘लग्जरी’ का लागि त्यो रकम खर्च गरियो ।

यस्तै घरजाने बेलामा अप्र थापाले उपरथी शाही र कार्की तथा महासेनानी माधव थापामार्फत आफ्नो एक हजार दिनको प्रचारका लागि झण्डा, ब्याच र उपहारका लागि पाँच करोड रुपैयाँ खर्च गर्न अनुमति दिए । यो रकमसमेत प्रधानसेनापति कोष, कल्याणकारी कोष र अन्य भैपरी आउने कोषबाट खर्च गरियो ।

‘करिब–करिब एक करोड रुपैयाँ बिदाई कार्यक्रममा ‘सोभेनियर’मा खर्च भयो, बाँकी रकम त अप्र थापा र उनी निकटले भागशान्ति गरे’, उच्च सैनिक स्रोतले भन्यो ।

प्रधानसेनापति शर्माले अहिले यस्ता संयन्त्र नबनाएपनि सेनाभित्रका भ्रष्टाचारीहरुलाई तह लगाउने उच्च सैनिक अधिकृतले बताए ।

प्रधानसेनापति कोष र कल्याणकारी कोषबाटै होटल र कालिज फार्म 

सेनाभित्र उपरथी प्रेम शाहीको कैलालीमा ६० बिगाह जमिनमा फैलिएको कालिज फार्म रहेको विषयमा धेरै जानकार छन् । उनका नातेदार टेकबहादुर चन्द सेनामै रहँदा यो फार्मको सुरुवात गरियो । त्यतिबेला सानो तहमा रहेको बुढीतोलास्थित फार्म अहिले त्यो क्षेत्रमा सबैभन्दा ठूलो र व्यवस्थित फार्म भएको छ ।

यस्तै धनगढीमा रहेको होटल डिभोटी समेतमा अप्र थापा, उपरथी शाही, कार्की र मसे थापाको लगानी रहेको स्रोतले जानकारी दियो । यो होटलमा सेनाकै रकमबाट ६ करोड रुपैयाँ लगानी भएको स्रोतको दाबी छ ।

‘फास्ट ट्रयाकका ठेकेदारहरु मञ्जिल श्रेष्ठ र निर्मल पौडेलमार्फत रकम लिएको र कल्याणकारी कोषको रकम करिब ४२ करोड रुपैयाँ हिनामिना भएको प्रारम्भिक छानबिनमा भेटिएको छ,’ सैनिक मुख्यालयस्थित विश्वस्त स्रोतले पर्दाफासलाई भन्यो, ‘यसमा तीन उपरथी, चार सहायक रथी, तीन मसेसहित १२ जना सैनिक अधिकृतको प्रत्यक्ष संलग्नता भेटिएको छ ।’ स्रोतका अनुसार यो विषयमा कसरी अघि बढ्ने भन्ने छलफल आन्तरिक रुपमा भइरहेको हो ।

यस्तै सैनिक मुख्यालयभित्र रहेको प्रधानसेनापति कोषको १२ करोड रुपैयाँ शून्य मौज्दातमा पुगेको खुलासा भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले कमाण्ड सम्हाले लगत्तै कोषको रकम ‘रित्तो’ भएको खुलेको हो ।

यस्तै उपरथी कार्कीमात्रले नीति तथा योजनामा बस्दा करिब ३० करोड रुपैयाँ हिनामिना गरेको खुलेको छ । यस सम्बन्धमा लेखापरीक्षकले कैफियतसहित लिखित कारबाहीका लागि प्रधानसेनापतिलाई सिफारिस गर्ने तयारी भइरहेको छ । जसमा उपरथी शाही सहित अन्य अधिकारी समेत मुछिएका छन् ।

घरजानुअघि धमाधम बढुवा र थमौती सिफारिस

तत्कालीन प्रधानसेनापति थापाले आफूले अवकाश पाउनु केही दिनअघि आफू निकटका अधिकारीहरुको पदावधि थप र शान्ति मिसन लगायतका सिफारिस गरेको खुलेको छ । उनले भ्रष्टाचारमा सहकार्य गर्ने उपरथी कार्कीको पदावधि थपको लागि सिफारिस रक्षा मन्त्रालय पठाएका थिए ।

आफूपछि कार्कीको उपरथीको पदावधि थप नहुने संकेत पाएपछि थापाले पहिले नै सिफारिस गरेर पत्र पठाएका हुन् । उपरथी कार्की कात्तिकमा अवकाश हुुँदैछन् ।

उनको पदावधि थप गर्न प्रधानसेनापति प्रभुराम शर्मा सकारात्मक नभएको सैनिक स्रोतको दाबी छ । तर, सिफारिस भइसकेको पत्र के गर्ने भन्नेबारेमा उनी परामर्शमा छन् ।

कार्कीको पदावधि थप भए उनी तीनतारे जर्नेल समेत बन्ने सम्भावना भएका अधिकृत हुन् । सैनिक रेकर्डअनुसार उनको जन्ममिति २०२३ असार १५ गते रहेको छ भने उनी सेनामा २०४३ फागुन ३ गते सैनिक क्याडेटका रुपमा भर्ना भएका थिए ।

सेनाका हालका रथी बालकृष्ण कार्कीले २०७९ असोजमा अवकास पाएपछि कार्कीको तीन तारे जर्नेलमा बढुवा हुने सम्भावना हुन्छ । तर, उनको पदावधि थप नभएको अवस्थामा उपरथी सीताराम खड्का तीन तारे जर्नेल बन्ने लाइनमा छन् ।

अवकाशप्राप्त प्रधानसेनापति थापाले निकट जर्नेलको पदावधि थपको फाइल घर जाँदै लाग्दा रक्षामा पठाए पनि सहायकरथी बाबुराम श्रेष्ठको भने पदावधि थप नगर्ने निर्णय गरेको समेत खुलासा भएको थियो  । उनी अहिले उपरथीमा बढुवा भइसकेका छन् । श्रेष्ठ तत्कालीन प्रधानसेनापति थापाको कोपविभाजनमा परेका जर्नेल हुन् ।

त्यस्तै २८ बेसिकका सहायकरथी पदमबहादुर सिंह र सागरबहादुर केसीलाई मानार्थ उपरथीमा बढुवा गर्ने निर्णय गरेका थापाले अरु एक वर्षसम्म भने मानार्थ दिन नमिल्ने निर्णय रक्षा मन्त्रालयमार्फत गरेको थिए । जब कि सिंह र केसीभन्दा सिनियर रहेका २५ बेसिकका जर्नेल ईश्वरकान्त मैनालीको हकमा भने उनले कुनै निर्णय गरेनन् । उल्टै मैनालीलाई बढुवा गर्न नमिल्ने गरी थापाले नियम नै परिवर्तन गरेका हुन् ।

सैनिक मुख्यालयमा केही दिनअघि बसेको सेनाको बोर्ड बैठकमा प्रधानसेनापति शर्माले अवकासमा जान लागेका सहायकरथी मैनालीलाई विशेष बढुवा दिन खोज्दा थापाले यो वर्षभरि नै नमिल्ने गरी निर्णय गरिसकेको खुलासा भएको हो ।

हाल सहायक रथी मैनाली सैनिक नियमअनुसार बिदामा छन् । उनको अवकाश सूचना निकालिएको छ ।

प्रधानसेनापति थापाले त्यतिमात्र होईन गणपतिको सरुवा, बढुवा र शान्ति सेनाको मिसनमा एक वर्षपछि जाने अधिकृतहरुको हकमा समेत निर्णय गरेर गएका थिए । प्रधानसेनापति शर्माको एक वर्षसम्म हात खुट्टा बाध्ने गरी सवै निर्णय भएको भेटिएपछि अहिले सैनिक नेतृत्व रक्षामन्त्री डा. मीनेन्द्र रिजालसँग परामर्शमा छ ।

तर केही बिचौलियामार्फत घरमा रहेका अप्र थापाले आफ्ना निर्णयको बचाउका लागि चलखेल गरिरहेको स्रोतको दाबी छ ।

 

यो पनि पढ्नुहोस्ः

सेनामा बेथिति–७: ‘टेस्टेड एन्ड ट्रायल’ हतियार खरीदको प्रक्रिया रोकेर यसरी भित्रिएको थियो सेनामा कोरियन राइफल

सेनामा बेथिति–६: ‘सेटिङ–शासन’ बिरुद्ध प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई उजुरी

सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त

सेनामा बेथिति–४:सेनापति निकटलाई भ्रष्टाचारमा ‘छुट’, कोअईकै काम किर्ते

सेनामा बेथिति–३ः बेलायतमा देशको नाम राख्ने प्रमुख सेनानी गुरुङलाई अधिकार माग्दा बदेँलको बात

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा

सेनामा बेथिती– १ : उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *