सेनामा बेथिति–६: ‘सेटिङ–शासन’ बिरुद्ध प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई उजुरी *सच्चाईएको

नेपाली सेनाका प्रधानसेनापति प्रभुुराम शर्माले कमाण्ड सम्हालेयता सेनाभित्रको ‘कस्मेटिक’ सुन्दरता बिस्तारै उदाङगो हुँदै गएको छ । विगतमा सेनाको विशेष फौजबाट खटाइने ‘इन्टिलिजेन्स’ का कारण फोनमा समेत बोल्न हिचकिचाउने अवकाशप्राप्त सेनाका उच्च अधिकारीदेखि बलालवालासम्म यतिबेला खुलेर बोल्न थालेका छन् ।

उनीहरुले सेनाभित्र अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा कसरी ‘सेटिङ–शासन’ चलेको थियो भन्ने बिषय अहिले आएर खुलाउन थालेका छन् । उनको कार्यकालमा मुख्यतह सेनाका चार उपरथी र दुई महासेनानीको हालीमुहाली रहेको र उनीहरु मार्फत नै अधिकांश सेनाका गतिविधी संचालन भएको यथार्थ खुल्न थालेको छ ।

आफुनिकटको बचाउ र आफु बिरुद्धका लागि कारबाहीको श्रृखंला चलेको सेनाभित्र यो अवधिमा भएका भ्रष्टाचार र थिचोमिचोको फेहरिस्त यतिबेला प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय र प्रधानसेनापतिको कार्यालयले केलाइरहेको छ ।

सैनिम मुख्यालय जंगी अड्डास्थित उच्च सैनिक स्रोतका अनुसार सेनाभित्रको एउटा समूहले प्रधानमन्त्री शेरबहादुर देउवा, रक्षामन्त्री डाक्टर मीनेन्द्र रिजाल र प्रधानसेनापति प्रभुराम शर्मालाई ६ पृष्ठ लामो उजुरी निवेदन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयमा दर्ता नम्बर २२६५ रहेको उजुरी असोज ७ मा दर्ता भएको हो । यस्तै ३ असोजमा प्रधानसेनापति कार्यालयमा पुगेको उजुरी यतिबेला बलाधिकृत रथी बालकृष्ण कार्कीको कार्यालयमा आइपुगेको छ ।

सेनाका उपरथीत्रय अनन्त कार्की, प्रेम शाही र विनयविक्रम राणा तथा अवकाशप्राप्त उपरथी रघु भण्डारीलाई कडाभन्दा कडा कारबाहीको माग राख्दैं घटनाक्रम र त्यसलाई पुष्टिगर्ने आधार उजुरीमा उल्लेख गरिएको छ । यस्तै महासेनानीद्वय माधव थापा र लक्ष्मण थापादेखि अन्य सैन्य अधिकारीहरु बिरुद्ध पनि उजुरीमा उल्लेख गरिएको छ ।

अति विश्वस्त स्रोत मार्फत पर्दाफासको कार्यालयमा खामबन्दी भएर आएको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख छैन् । यद्यपी उजुरीमा रहेका धेरै  विषयहरु पर्दाफास डटकमको श्रृंखला ‘सेनामा बेथिति’ मा उल्लेख गरिएका छन् ।

पर्दाफासलाई प्राप्तपत्रको कपि तस्बिरका रुपमा हामीले राखेका छौं । यस्तै उजुरीमा उल्लेख गरिएका केही महत्वपूर्ण बुँदाहरु यहाँ प्रस्तुत गरिएको छ ।

सैनिक अस्पताल र खरिदमा भ्रष्टाचार 

प्रधानसेनापति प्रभुराम शर्मालाई सम्बोधन गरेर लेखिएको उजुरीमा नेपाली सैनिक वीरेन्द्र अस्पतालमा कमाण्डीङ्ग अधिकृत रहँदा उपरथी रघु भण्डारी (अप्रा) र उपरथी प्रेम शाहीहरुले औषधि खरिद, विभिन्न सामानहरु खरिद र निर्माण कार्यमा चरम लापरबाही गरी ठूलो मात्रामा आर्थिक हिनामिना गरेको उल्लेख गरिएको छ ।

उजुरीमा उल्लेख भए अनुसार यस सम्बन्धमा विगतमा छानबिन समेत भए तापनि सो छानबिनको कागजातलाई उनीहरुले पैसा र नाता सम्बन्धको कारण लुकाउन सफल भएको बताइएको छ । ‘यी दुवै जनाले जागिरको दौरान अकुत सम्पत्ति आर्जन गरी राखेको हुँदा वास्तविक रुपमा छानबिन गरी प्रचलित कानुन अनुसार कारबाहीको लागि अनुरोध गर्दछौं,’ उजुरीमा भनिएको छ ।

यस्तै उपरथी शाहीले आफू डिजिएमओमा बस्दा, रघु भण्डारी संभाररथीको कार्यालयमा रहँदा र उपरथी अनन्त कार्की नीति महानिर्देशक रहँदा पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापालाई अरु जनरलहरुको कुरा लगाएर नजिक भएको र पूर्वप्रधानसेनापतिलाई फकाएर रकम हिनामिना गरेको उजुरीमा उल्लेख छ ।

‘नेपाली सेनाको हिनामिना गरेको रकमले शाही, कार्की, भण्डारी र महासेनानी लक्ष्मण थापाले कैलालीको बुढीतोला ईलाकामा कालिज फार्म खोलेका छन्, झापामा कृषि फार्म खोलेका छन् र बारामा समेत निजहरुको लगानीमा ठूलो परिमाणमा जग्गा खरिद गरी बाख्रा पालन, माछा पालन गरेका र सो जग्गाको व्यवस्थापन गर्न पूर्व प्रमुख सेनानी रामबहादुर थापालाई जिम्मा दिएका छन् साथै ललितपुरको लुभु इलाका, महालक्ष्मीस्थानमा प्रेम शाहीले आफ्नो सालोको नाममा र रघु भण्डारीले छोरीको नाममा जग्गा खरिद गरिराखेका छन् ।

अनन्त कार्कीले मोरङ र सुनसरी इलाकामा कालो धनले जग्गा किनेर राखेका छन् । कार्कीसंगको सेटिङमा प्रेम शाहीले आफू पृतना कमाण्डमा जाँदा अत्याधिक धेरै रकमहरु प्रचलित नीति नियम र कानुन विपरीत निकासा गरी लगेको र सो रकम खर्च गर्दा टुक्रा टुक्रा टेण्डर निकाली बिल बनाएर खर्च गरेको र रकम हिनामिना गरेर बचत गरेको रकम रघु भण्डारी, अनन्त कार्की, प्रेम शाही र लक्ष्मण थापाको साथै महासेनानी माधव थापा मिलेर खाएका छन् ।’

शाही डिजिएमओ रहँदा प्रधानसेनापतिको कार्यालय (भूकम्पपछि बनाइएको, सभाहल नजिकको) लाई पुनर्निर्माण गर्न भनी ठूलो मात्रामा रकम (३ करोड रुपैयाँ)  निकाशा गरेको, उक्त कार्यको लागि उनले कार्की, भण्डारी र मसे थापासँग मिलिभगत गरी ५ करोड बराबरको ठेक्का लगाएको, तर १ करोड बराबरको कार्य मात्र ठेकेदारबाट गराई बाँकी रकम आफै लिई गुड फर पेमेन्टमा राखी आफूलाई कमिसन दिने शर्तमा आफू अनुकूलको ठेकेदारलाई प्रयोग गरी अत्यधिक महंगोमा काम गराई प्र।से।प।को सहायक अड्डाको नामको रकममा रजगज गरी तत्कालीन संभार रथी रघु भण्डारी, म।से। माधव थापा, उर प्रेम शाही र उर अनन्त काकीले रकममा अनियमितता गरेको हुँदा सत्यतथ्य छानबिन गरी हदैसम्मको कारवाहीको माग उजुरीमा गरिएको छ ।

भण्डारी, शाही, कार्की र उपरथी विनय विक्रम राणाले लेवनानमा रहेको मिसनको कन्टिन्जेण्ट कमाण्डर महासेनानी कृष्णराज आचार्यलाई सेना दिवसमा खर्च गर्न भनी निकासा गरेको अमेरिकी डलर करिब १५ सयलाई खर्च नगरी नक्कली बिल बनाई खर्च गरेको नक्कली बोर्ड बनाउन गणका १ जना क्याप्टेन प्रेम खत्रीलाई गोप्य रुपमा लगाएर सो रकमको लेवनान बाट ४०० डलरको दरले ३ बटा गलैचा र बांकी रहेको रकमको केही प्लेट हरु ल्याएको र निजहरुलाई दिएको उजुरीमा उल्लेख छ ।

सह सेनानी प्रेम खत्रीलाई नमुनाको लागि भनी बनाएका बिलहरु र बोर्डको कागजातलाई नै किर्ते बनाएर प्रयोग भएको उजुरी उल्लेख छ  । उक्त खरीद कार्यमा प्रमुखसेनानी प्रकाश लामिछाने, जितेन्द्र थापा र उमेश कार्की समेतको संलग्नता रहेकाले उनीहरुलाई सोधेमा सत्यतथ्य बाहिर निस्कने सुुझाव उजुरीमा दिइएको छ । सो उपहार कृष्णराज आचार्यले आफू सहायक रथीको प्रमोशन हुनको लागि रघु भण्डारी, अनन्त कार्की र विनय विक्रम राणालाई दिएको उजुरीमा उल्लेख छ।

‘यसरी खर्च नै नगरी नक्कली बोर्ड र बिल बनाएर चाकडी गर्ने कृष्णराज आचार्य र गर्न लगाउने रघु भण्डारी, विनय विक्रम राणा, अनन्त कार्की र प्रेम शाहीलाई समेत छानबिनको दायरामा ल्याएर कारवाही गरीपाँउ’, उजुरीमा भनिएको छ ।

यस्तै रघु भण्डारी संभाररथीमा रहँदा रकमको अत्यधिक घोटाला भएको उजुरीमा उल्लेख छ । घटनाक्रमका रुपमा अन्तरा स्पोटर्सलाई ४० हजार थान बुट खरीदको लागि रकम घोटला गरी नियमविपरीत कम रेटकोलाई नदिएको । केसी ट्रेडर्सलाई छालाको बुट गर्न नियम विपरीतको कार्य गरेकोमा हालसम्म पनि उक्त बुटहरु प्राप्त हुन नसकेको । नेपाली सेनाको सबै युनिटहरुको लागि वाटर ट्रिटमेण्ट प्लान्ट केन्द्रीय लेवलबाट खरिद गर्ने बहानामा सेटिङ मिलाएर करोडौं रकम घोटला गरेको । नेपाली सेनाको लागि राई स्टिमर खरिद गर्दा पहिला बालाजुमा बनेको नमुना देखाएर पास गराएको तर पछि चाईनिज ल्याएर बितरण गरी करोडौं रकम घोटला गरेको ।

शान्ति सेनाको लागि आवश्यक पर्ने सवारीसाधन तथा अन्य सामानहरु प्रधानसेनापति पूर्णचन्द्र थापाको सालो राजन रायामाझीमार्फत ठेक्का लगाई अकूत रकम हिनामिना गरेको । नेपाली सेनाको लागि आवश्यक पर्ने बुट खरिद प्रक्रियामा भएको घोटालाको सम्बन्धमा विभिन्न प्रमुुख पत्रिकाले नै कभर स्टोरीसहित समाचार प्रकाशित हुँदा समेत पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्ना साढु भाईलाई उन्मुक्ति दिएको हँुदा सो बुट खरिद प्रक्रियामा भएको अत्याधिक रकम घोटालाको छानबिन गर्न उजुरीमा माग गरिएको छ ।

सेनाबिरुद्ध ‘गलफत्ती’ र आफ्नाका लागि मोर्चावन्दी 

उजुरीमा उल्लेख भए अनुसार बिगतमा शाही, भण्डारी, कार्की, मसे थापाहरु काठमाडौं र ललितपुरका विभिन्न होटलहरुमा गोप्य बैठक बस्ने, सिनियर रथीहरुको बारेमा अनैतिक रुपमा छलफल गर्ने, खबर संकलनको लागि इन्ट खटाउने, घरमा राखेको रनरहरु मार्फत गोप्य सूचना ल्याउने गरेको र प्रधानसेनापति पूर्णचन्द्र थापालाई खबर पु¥याउने गरेका थिए ।

‘यस्ता धमिराहरुले हजुरको बारेमा समेत खबर संकलन गरी बुझाएको प्रमाण हामीसँग छ । रघु भण्डारीले त जातको कुरा निकाल्दै चोर बाहुन, लुते, काम गर्न नसक्ने भन्दै अनन्त कार्कीलाई प्रयोग गरी राजनैतिक लबिङ्ग गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विगतमा आफू स्टाफ बसेको गलत फाइदा उठाउँदै उनको सहयोगी भानु देउवासँग प्रधानसेनापति बाहुनलाई नदिन भनी ४ पटक देउवा निवासमा पठाएका छन् भने भक्तपुरका नेकपा एमालेका नेता महेश बस्नेतसंग बारम्बार अनुनय विनय गरेका थिए ।  यसरी नेपाली सेनाको मूल्य मान्यता विपरीत राजनैतिक दलका नेताहरुको घर घर गएर अनैतिक कार्य गर्ने अनन्त कार्कीलाई समेत हदैसम्मको कारवाही गरीपाँउ’, उजुरीमा उल्लेख छ ।

यस्तै उजुरीमा नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको तालिममा शाही र कार्कीले सिलसिलेवार सख्यां १९ मा तालिमरत विशेष फौजका सेनानी सुभाष खड्का र सेनानी मदनजंग राणालाई कम नम्बर ल्याउँदा ल्याउँदै पनि जबर्जस्ती अगाडि ल्याएको उल्लेख गरिएको छ ।

नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेजको सिनियर इन्सटक्टरकोमा रहेको फाईल हेर्दा यो बिषय प्रस्ट हुने उजुरीमा उल्लेख छ । जम्मा अंकमा निजहरुलाई सेनानी चन्दन सिंह थापा र सेनानी दिनेश गौतमले जितेको तर हतार हतारमा तत्कालीन सिनियर शिक्षक मसे सन्तोष ढकाल (हाल पूर्वी कमाण्डको कमाण्डर) लाई प्रभाव र दबाबमा आफ्ना मानिसलाई अगाडि ल्याउन दबाब दिँदा कुल अंक  मिलाउन छाडेको उजुरीमा उल्लेख छ  । ‘तसर्थ उक्त कुरा गोप्य रुपमा छानबिन गरी सन्तोष ढकाल, प्रेम शाही र अनन्त कार्कीलाई हदै सम्मको कारवाही गरी पाँउ,’ उजुरीमा भनिएको छ ।

 

हेरौं उजुरीका तस्बिरहरु–

 

 

 

 

 


(सच्चाईएकोः यसअघि समाचारमा नेपाली सेनाकी उपसेनानी मेडिकल अफिसर रक्षा भण्डारीका बिषयमा असावधानीवस केही ब्यक्तिगत तथा स्वास्थ्यका बिषयमा उल्लेख गरिएको सन्दर्भ उनको परिवारबाट आएको आग्रहपछि हटाएका छौं । यो समाचारमा उल्लेख भएका बिषयहरु नेपाली सेनाको मुख्यालय जंगी अड्डामा परेको उजुरीका आधारमा लेखिएको हो । पर्दाफाससँग उक्त उजुरीको प्रतिलिपि सुरक्षित छ ।
-सम्पादक )

यो पनि पढ्नुहोस्ः

सेनामा बेथिति–७: ‘टेस्टेड एन्ड ट्रायल’ हतियार खरीदको प्रक्रिया रोकेर यसरी भित्रिएको थियो सेनामा कोरियन राइफल

सेनामा बेथिति–६: ‘सेटिङ–शासन’ बिरुद्ध प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई उजुरी

सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त

सेनामा बेथिति–४:सेनापति निकटलाई भ्रष्टाचारमा ‘छुट’, कोअईकै काम किर्ते

सेनामा बेथिति–३ः बेलायतमा देशको नाम राख्ने प्रमुख सेनानी गुरुङलाई अधिकार माग्दा बदेँलको बात

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा

सेनामा बेथिती– १ : उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *