सेनामा बेथिति–७: ‘टेस्टेड एन्ड ट्रायल’ हतियार खरीदको प्रक्रिया रोकेर यसरी भित्रिएको थियो सेनामा कोरियन राइफल

नेपाली सेनाले ‘टेस्टेड एन्ड ट्रायल’ एम–१६ राइफल प्रयोग गर्दै आएकोमा एकाएक खरीद प्रक्रियामै रहेको विषयलाई लत्याएर अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापा र उनको टिमले कोरियाबाट केटु सिरिजको केटु वन राइफल खरीद गर्यो । सरकारको एक अर्ब ७० करोड लागतमा खरीद भएका यी हतियार अहिले प्रयोगमा ल्याउँदा समस्या नै समस्या देखिएपछि जंगी अड्डा अवकाशप्राप्त प्रधानसेनापति थापाको गल्ती सच्याउने प्रयासमा छ ।

नेपाली सेनाले मंसिर पहिलो सातादेखि चैत अन्तसम्म देशभरका युनिटहरुमा आलोपालो गरेर सामूहिक तालिम सुरुवात गर्यो । यो प्रधानसेनापति प्रभुराम शर्माको ‘सामूहिक तालिम अवधारणा तथा कार्ययोजना–२०७८’ को एउटा अभिन्न अंग थियो ।

सेनापति शर्माको यो अवधारणा कोभिड महामारीका कारण ब्यारेकमा बस्न बाध्य सैनिक जवानदेखि अधिकृतसम्मलाई फिल्डमा सक्रिय बनाउनु थियो । यस्तै सेनाका युनिटहरुको बन्दोबस्तीदेखि हातहतियार तथा गोलाबारुदको अवस्था ‘अप टु डेट’ गर्नु थियो ।

सामूहिक तालिमका अवधिभर सेनापति शर्मा आफैंसमेत फिल्डमा सक्रिय भए ।

सामूहिक तालिमको अवलोकन तथा निरीक्षण भ्रमणमा सेनापति शर्मा नगरकोट पुगेका थिए । उनी १ नम्बर बाहिनीले आयोजना गरेको तालिम अवलोकनका लागि त्यहाँ पुगेका हुन् । नगरकोटमा सेनाले केही समयअघि भित्र्याएको दक्षिण कोरियामा निर्मित के टू सिरिजका राइफलको परीक्षण फायरिङ हुँदै थियो ।

नगरकोटमा सयौं राउन्ड फायरिङपछि हतियारका विषयमा ‘फिडब्याक’ लेखियो । यस प्रकारको फिडब्याक देशभर भएको सामूहिक तालिमका कमाण्डरहरुले लेखेका थिए, जसको अध्ययन पछि सेनाको विशेष कार्यदलले गर्नुपर्छ । देशभरबाट केटु सिरिजका हतियारका विषयमा आएको ‘फिडब्याक’ लगभग समान थियो ।

ती हुन्– हतियारको बगमा समस्या, ब्यारेलमा समस्या, ब्यारेल तात्ने, ककिङ ह्यान्डल भाँच्चिने र लगातार फायरिङपछि मिस फायरिङ ।

सेनाले आफ्ना युनिटहरुमा पठाइसकेका यी हतियारका विषयमा आएको यस्तो प्रतिक्रिया र सेनाको कार्यदलको प्रतिवेदनपछि सैनिक मुख्यालय के गर्ने भन्ने विषयमा सोचविचार गरिरहेको सैनिक उच्च स्रोतको दाबी छ ।

यसरी भित्रिएको थियो हतियार 

प्रधानसेनापति थिए पूर्णचन्द्र थापा र नीति तथा योजना निर्देशनालयमा निर्देशक सहायक रथी सुरेन्द्र रावल अनि महाशाखा प्रमुख तत्कालीन महासेनानी नहकुल रायमाझी । सेनालाई हतियार आवश्यक थियो । यसका लागि कार्यदलले गृहकार्य गरिरहेको थियो ।

सेनाको पत्राचारपछि रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयले करिब एक अर्ब ७० करोड रुपैयाँ हतियार खरीदका लागि निकासा दियो । त्यसपछि नीति तथा योजना निर्देशनालयमार्फत सेनाले प्रयोग गर्दै आएको अमेरिकामा निर्मित एम–१६ राइफल खरीद प्रक्रिया अघि बढाइयो ।

यो हतियार खरीद प्रक्रिया जीटुजीमार्फत थियो । यसमा कुनै एजेन्ट र बिचौलिया कम्पनी राख्न अमेरिका तयार थिएन, जसका कारण हतियार खरीदमा पहिलेदेखि मुख मिठ्याएर बसेको तत्कालीन सैनिक नेतृत्व, उनको टिम, उनकै नातेदार र एजेन्ट लोकेन्द्र कार्की नयाँ जुक्तिको खोजीमा थिए ।

सेनाभित्र नीति तथा योजना निर्देशनालयको निर्णयअनुसार खरीद प्रक्रिया अघि बढ्ने गर्छ । तर, त्यहाँ आफूले भनेअनुसार गर्न सहायक रथी रावल तयार थिएनन् । तर पनि तत्कालीन प्रधानसेनापति थापाले एकदिन सहायक रथी रावललाई एकभारी कागजपत्र थमाए । ती कागजपत्र सिंगापुरमा रहेको हतियार बिचौलिया कम्पनीका पम्प्लेटहरु थिए ।

सेनामा प्रधानसेनापतिको निर्देशन अकाट्य हुन्छ । सहायक रथी रावलले (जसलाई आफू अनुकूल नगरेको रिसमा थापाले अन्यायपूर्ण तरिकाले कारबाही गरेर बर्खास्त गरे) ती पम्प्लेट, पर्चा र कागजपत्र महाशाखा प्रमुख महासेनानी रायमाझीलाई दिए । उनले ‘ती कागजपत्र हेर्नू र कार्यदलले भने अनुसार भएमात्र अघि बढाउनू’ भने ।

यतिबेलासम्म सेनाको ठूलो समूह अमेरिकाबाटै एम–१६ राइफल ल्याउनुुपर्ने मान्यतामा अडिग थियो । तर, यसैबीच सहायक रथी रावल काम विशेषले अमेरिका उडे । यता ‘गेम  चेन्ज’ भयो ।

तत्कालीन प्रधानसेनापति थापाको ठाडो निर्देशनअनुसार उनै लोकेन्द्र कार्की (सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीका सहोदर भाई) को कम्पनीमार्फत दक्षिण कोरिया सरकारको एजेन्सी फर डिफेन्स डेभलपमेन्ट मातहत रहेर हतियार तथा गोलीगठ्ठा उत्पादन गर्ने डेउ प्रिसिजन इन्डस्ट्रिजबाट सरकारले जीटूजी अनुसार करीब १ अर्ब ७० करोड बराबरका हतियार खरीद गर्यो । त्यसबेला के टू सिरिजको सबैभन्दा पछिल्लो केटूसी वन असल्ट राइफल खरीद गरिएको भन्दै उनै थापाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयलाई प्रचार गराउन समेत लगाए ।

अमेरिकासँग एम–१६ राइफलको खरीद प्रक्रियामै रहेका बेला त्यसलाई रोकेर २२ असार २०७६ मा दक्षिण कोरिया सरकारसँग हतियार खरीद सम्झौता भएको थियो ।

उच्च सैनिक अधिकारीका अनुसार दक्षिण कोरियासँग हतियार खरीद र ती हतियारका लागि आवश्यक गोली उत्पादन गर्ने उद्योग स्थापनाका लागि समेत सम्झौता भएको छ । ती अधिकारीका अनुसार सुन्दरीजलमा केटूका लागि फाइभ प्वाइन्ट फाइभ सिक्स र सेभेन प्वाइन्ट सिक्स टू एमएमको गोली उत्पादन हुनेछ । दक्षिण कोरियाले करीब साढे चार अर्बमा दुवै एमएमका गोली उत्पादन सहितका उपकरण जडानका लागि सहमति जनाएको हो । जसमा ठूलो कमिशनको खेल भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार तत्कालीन प्रधानसेनापति थापाका साला राजन रायमाझीमार्फत हतियार खरीदमा आएको कमिशन व्यवस्थापन भएको छ । एजेन्ट कार्कीले अवकाशप्राप्त प्रधानसेनापति थापाको सल्लाहअनुसार रायमाझीलाई भित्री रुपमा साझेदार बनाएका छन् ।

सेनाले कोरियाबाट ९ सय डलरका दरले ३४ हजार थान केटूसी वन असल्ट राइफल खरीद गरिसकेको छ । उच्च स्रोतका अनुसार यसमा करिब चार सय अमेरिकी डलर प्रतिहतियार कमिसनको खेल भएको छ । अमेरिकी हतियार एम १६ र इजरायली हतियार गलिल ल्याउने सेनाको चाहनाविपरीत त्यतिबेला सेनामा यसअघि एक थान पनि नभएको के टू हतियार ल्याइएको थियो ।

सेनामा ‘थापा एन्ड कम्पनी’  हतियार ल्याउन सक्रियनेपाली सेनाले करिब ६ महिनाअघि दुई अर्ब रुपैयाँको हतियार खरीद गर्न काठमाडौंमा रहेका अमेरिका, इजरायल र कोरियन दूतावासलाई पत्राचार गरेको थियो । तीनै दूतावासले आफ्नो देशका हतियार उत्पादकको कोटेशन नेपाली सेनालाई बुझाएको छ ।

सैनिक उच्च स्रोतका अनुसार यो खरीद प्रक्रियामा समेत अवकाशप्राप्त प्रधानसेनापति थापा र एजेन्ट कार्की सक्रिय छन् । यसमा सेनाभित्र रहेका एक जना उच्च अधिकारीले उनीहरुलाई सघाइरहेको स्रोतको दाबी छ । यही योजनाअनुसार सेनालाई तीन दूतावासले पठाएको कोटेशनमा कोरियन कम्पनीको दर सबैभन्द कम बनाइएको छ ।

तर, प्रधानसेनापति शर्माले हाललाई हतियार खरीद प्रक्रिया स्थगित गरेका छन् । उनी केटुको पछिल्लो अवस्थाको आफै साक्षी भएकाले समेत यो हतियार भित्र्याउने पक्षमा नभएको सचिवालय स्रोतले जानकारी दिएको छ ।

अवकाशप्राप्त प्रधानसेनापति थापाले अवकाशअघि लत्ताकपडाका लागि आएको २ अर्ब ३० करोड बजेट रकमान्तर गरेर हतियार खरीद गर्ने शीर्षकमा राखेका थिए । यसकै लागि उनले सेनाको खरीद प्रक्रियामा सामेल हुने महानिर्देशनालय, निर्देशनालय र विभागमा आफू निकटहरुको सरुवा गरेको स्रोतको दाबी छ ।

 

यो पनि पढ्नुहोस्ः

सेनामा बेथिति–७: ‘टेस्टेड एन्ड ट्रायल’ हतियार खरीदको प्रक्रिया रोकेर यसरी भित्रिएको थियो सेनामा कोरियन राइफल

सेनामा बेथिति–६: ‘सेटिङ–शासन’ बिरुद्ध प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई उजुरी

सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त

सेनामा बेथिति–४:सेनापति निकटलाई भ्रष्टाचारमा ‘छुट’, कोअईकै काम किर्ते

सेनामा बेथिति–३ः बेलायतमा देशको नाम राख्ने प्रमुख सेनानी गुरुङलाई अधिकार माग्दा बदेँलको बात

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा

सेनामा बेथिती– १ : उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *