सेनामा बेथिति–३: बेलायतमा देशको नाम राख्ने प्रमुख सेनानी गुरुङलाई अधिकार माग्दा बदेँलको बात

नेपाली सेनामा प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल बाहिरबाट हेर्दा जती आर्कषक देखियो, भित्र त्यती नै जर्जर रहेका प्रमाण यतिबेला बाहिर आउन थालेका छन् । उनले आफ्नो कार्यकालको सुरुवात देखि अन्तसम्म भ्रष्टाचार, सुशासन, अनुशासन र शुद्धिकरण तथा विकासको अदभूत ‘मोडल’ स्थापित गरेको दाबीगर्दै हाल घरबिदामा छन् । 

प्रधानसेनापति थापा र उनको कोटरीमा रहेको समूहले कसरी एकजना अब्बल प्रमुख सेनानीलाई घरजान बाध्य बनायो ? सेनामा बेथिती–३ मा हामी त्यस बिषयमा खोत्लदै छौं । 

नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल) अशिमदेव गुरुङ यतिबेला राजीनामा दिएर घरमा बसिरहेका छन् । यी तीनै प्रसे गुरुङ हुन जसले दुई वर्षअघि विश्वका ३४ देशका सेनालाई पछि पार्दै नेपालका लागि नेपाली सेनाको तर्फबाट बेलायतमा स्वर्ण पदक जितेका थिए ।

बेलायतमा स्वर्ण पदक जित्ने कमाण्डर प्रसे गुरुङ सहित उनको १० जनाको टोलीलाई  प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्मान समेत गरेका थिए । प्रसे गुरुङको कमाण्डमा खटिएको टोलीले बेलायतमा २४ असोज २०७६ देखि ३ कार्तिक २०७६ सम्म सञ्चालन भएको एक्ससाइज क्याम्ब्रियन प्याट्रोल २०१९ मा स्वर्ण पदक जितेको थियो ।

प्रमुख सेनानी गुरुङ नेतृत्वको टोलीलाई ८ कार्तिक २०७६ मा प्रधानसेनापति थापाले ‘प्रधानसेनापती प्रशंसा निशान’ समेत प्रदान गरेका थिए ।

‘प्रधानसेनापति प्रशंसा निशान’ सुशोभन कार्यक्रममा प्रधानसेनापति थापाले सम्बोधन गर्दैं नेपाल र नेपाली सेनाको प्रतिनिधित्व गरी हासिल गरेको सफलताले नेपाली सेनाको गौरवमय इतिहासलाई थप जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको विचार व्यक्त गरेका थिए ।

बेलायतको वेल्सस्थित ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १०६ र नेपाली समेत अन्य ३४ देशका गरी कूल १४० सैन्य टोलीहरुको सहभागिता रहेको थियो । नेपाली सेनाको तर्फबाट प्रसे गुरुङले नेतृत्वमा गरेको अभ्यासमा विशेष फौज बाहिनी, पशुपति प्रसाद गण र गौरीबक्स गुल्मका १० जनाको टोलीले सहभागिता जनाएका थिए ।

विश्वस्तरिय सैन्य अभ्यासमा युद्वकालीन विशेष परिस्थितिहरुको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर शारीरिक सहिष्णुता र पेशागत दक्षताको आधारमा मुल्याङ्कन गरिएको थियो । सन् १९६० बाट वार्षिक रुपमा मित्रराष्ट्र बेलायतमा संचालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको ‘एक्ससाइज क्याम्ब्रियन प्याट्रोल २०१९’ प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिदैं आईरहेको छ ।

अब प्रश्न उठछ, सेनामा माथिल्लो तहसम्म पुग्ने सम्भावना बोकेका प्रसे गुरुङले एकाएक किन राजीनामा दिए? 

प्रसे गुरुङ पशुुपति प्रसाद गणका गणपति थिए । उनी बेलायतमा यही गणबाट खटिएका थिए । अब्बल व्यवसायिक चरित्र भएका गुरुङ यो अन्तर्राष्ट्रिय प्रतियोगिता बाहेक सेनाभित्रको आन्तरिक प्रतियोगितामा समेत आफु र गणलाई अब्बल राख्ने अधिकारीमध्ये एक थिए ।

यही सेरोफेरोमा उनले अपरेशनल रेडिनेश इन्स्पेक्सन र पेशागत प्रतियोगितामा समेत अब्बल काम गरेका थिए । सोही अनुसार उनी २०७६/०७७ मा प्रथम पनि भए । उनले प्राप्त गरेको अंकका आधारमा जंगी अड्डाभित्रबाटै उनलाई त्यो सूचना आएको थियो ।

सेनामा अब्बल भएर ब्यानर पाउने गणका गणपतिले एउटा निश्चित नफ्रीको कमाण्डगर्दै संयुक्त राष्ट्र संघको शान्ति मिशनमा सहभागी हुन पाउने नियम छ । सोही अनुसार पशुपति प्रसाद गणको नेतृत्वगर्दै प्रसे गुरुङपनि कुनै एउटा मिशनको कमाण्डमा जानुपर्ने थियो ।

तर, त्यसो हुन सकेन ।

जंगी अड्डाले नतिजा निकाल्दा उनलाई दोस्रो बनायो । प्रथम बन्यो प्रधानसेनापति थापाको गण श्रीजंग गण । र प्रथम तथा उत्कृष्ट बने गणपति प्रसे शिखर जबरा ।

यो बिषय प्रसे गुरुङले मौखिक रुपमा प्रधानसेनापति थापा सहित जंगी अड्डामा भने । एकप्रकारले मौखिक उजुरी उनले दिए । तर, त्यसको कुनै सुनवाई भएन ।

सैनिक उच्च स्रोतका अनुसार घरजाने बेला प्रधानसेनापति थापाले आफ्नो गण र प्रसे जबरालाई केही गर्दिनु पर्ने थियो । यसका लागि उनको कोटरीमा रहेका जर्नेलहरु प्रेम शाही, अनन्त कार्की र हिरालाल जोशी तथा महासेनानी माधव थापा समेतको दबाब थियो ।

‘मसे माधव थापा समेत सोही गणको भएकाले प्रसे शिखर र उनको गणलाई बलजफ्ती प्रथम बनाइयो,’ जंगी अड्डास्थित उच्च सैनिक स्रोतले पर्दाफासलाई भन्यो, ‘पछि जबराको सवारी दुर्घटना भएपछि पनि महान्यायाधीवक्ता कार्यालय मार्फत चलखेल समेत भएको छ ।’

यो घटनापछि प्रसे गुरुङ पशुपति प्रसाद गणबाट नगरकोटस्थित सेनाको वार कलेजमा सरुवा भयो ।

तर, उनले जंगी अड्डामा उठाएको आवाज प्रधानसेनापति थापा र उनको कोटरीका जर्नेल र कर्णेलहरुलाई चित्त बुझेको थिएन् । अब, प्रसे गुरुङलाई कसरी फसाउने भन्ने योजना बुन्न थालियो ।

सोही योजना अनुसार केही महिनाअघि प्रसे गुरुङलाई ‘जंगली बदेँल मारेर खाएको’ भन्ने आरोप लगाएर छानबिन थालियो । यसअघि पनि विभिन्न आरोप लगाउने प्रयासबाट सचेत रहेका प्रसे गुरुङले भित्री कुरा बुझे । यसरी अन्याय र झुठा आरोप सहेर बस्नुभन्दा उनले राजीनामा दिएको उनकै ब्याचीमध्ये एकले पर्दाफासलाई बताए ।

यतिबेला श्रीजंग गण र प्रसे जबरा साउथ सुडानस्थित शान्ति मिशन जाने तयारी गरिरहेका छन् । यता, प्रसे गुरुङ भने सेनाभित्र आफुलाई परेको अन्याय बिरुद्ध के गर्ने भन्ने सोचमा डुबेका छन् ।

सवारी ज्यानमा जबरालाई मुद्दा नचलाउन प्रधानसेनापतिकै दौडधुप 

प्रसे शिखर जबराले चलाएको कारले ठक्कर दिँदा २६ बैशाख २०७७ मा रविभवनमा टिकाराज गेलालको मृत्यु भएको थियो । सो घटनामा प्रसे जबराको गल्ती नदेखिएपनि प्रहरीले मुद्दा अदालतमा दर्ताको प्रक्रिया अघि बढाएको थियो ।

तर, प्रधानसेनापति थापाले प्रसे जबरा बिरुद्ध फौजदारी मुद्दा चलेमा मिशनमा जान नमिल्ने भएपछि तत्कालिन महान्यायाधीवक्ता अग्निप्रसाद खरेललाई दबाब दिएर मुद्दा नचल्ने बनाए ।

जबराले चलाएको कारले बिपरित दिशाबाट तर सोही लेनमा आउँदै गरेको शिकारु गेलालले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । पर्दाफासलाई प्राप्त अभियोगपत्र र क्लोजसर्किट क्यामरामा कैद दृश्यले जबराले चाहेको भए दुर्घटनामा क्षती कम हुनसक्ने देखिन्छ । उनले केही दुरीमा रहेको मोटरसाईकल देखेपछि झनै स्पिड बढाएका थिए ।

प्रहरीमा उनले आफू आत्तिएको बताएका छन् । तर, यो घटनामा कानूनी उपचार नै अवरुद्ध गरेर जबरालाई बचाएकोमा प्रहरी समेत असन्तुष्ट बनेको थियो ।

 

यो पनि पढ्नुहोस्ः

सेनामा बेथिति–७: ‘टेस्टेड एन्ड ट्रायल’ हतियार खरीदको प्रक्रिया रोकेर यसरी भित्रिएको थियो सेनामा कोरियन राइफल

सेनामा बेथिति–६: ‘सेटिङ–शासन’ बिरुद्ध प्रधानमन्त्री, रक्षामन्त्री र सेनापतिलाई उजुरी

सेनामा बेथिति–५: यस्तो छ कल्याणकारीदेखि प्रधानसेनापति कोष रकम हिनामिनाको फेहरिस्त

सेनामा बेथिति–४:सेनापति निकटलाई भ्रष्टाचारमा ‘छुट’, कोअईकै काम किर्ते

सेनामा बेथिति–३ः बेलायतमा देशको नाम राख्ने प्रमुख सेनानी गुरुङलाई अधिकार माग्दा बदेँलको बात

सेनामा बेथिति–२: प्रधानसेनापति राणाले थुन्न आदेश दिएका उपरथी शाही, उमेर सच्याएर रथी बन्ने दाउमा

सेनामा बेथिती– १ : उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *