विशेष अदालतले फैसला गरेका १२२ मुद्दामा अख्तियारको पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरूमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले मंगलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको जानकारी दिएको हो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा विशेष अदालतबाट १६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताए । उनले त्यसमध्ये १२२ वटा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट पारे ।

१८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको उनले बताए । प्रवक्ता भण्डारीले आयोगले २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको र ती मुद्दाहरूको फैसला प्राप्तिका लागि कुरेको बताए ।

उनले अघिल्लो आर्थिक वर्षको दुईवटा मुद्दा पनि पुनरावेदन गरेको जानकारी दिए । ती मुद्दाहरू सामाजिक सुरक्षाभत्ता हिनामिना र गैरकानूनी सम्पत्ति आर्जनको रहेको उल्लेख गरे ।

पुनरावेदनमा गएका १२२ वटा मुद्दाहरूमध्ये गलत प्रतिवेदनका २ वटा, झुटा बिल भरपाइका २ वटा, घुस÷रिसवतका ११२ वटा, नक्कली बैंक ग्यारेन्टीको १ वटा, जग्गाधनी स्रेस्ता सच्याएको १ वटा र राजस्व चुहावटको १ वटा रहेको उनले जानकारी दिए । त्यसैगरी सार्वजनिक पुल निर्माणको १ वटा र गुणस्तरहीन सामान खरिदको १ वटा रहेको उनको भनाइ छ ।

प्रवक्ता भण्डारीले गत आर्थिक वर्षमा विशेष अदालतबाट १४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ वटामा मात्र सफलता प्राप्त गरेको पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर